अफगानिस्तानका पूर्वअर्थमन्त्री अमेरिकामा ट्याक्सी चलाउँदै

वासिङ्टन, एजेन्सी। कुनै बेला उनी देशको सम्पूर्ण अर्थतन्त्र चलाउँथे। पैसा उनको लागि कागजको खोस्टो जस्तै थियो। तर, अहिले उनी गाडी चलाएर जिविकोपार्जन गरिरहेका छन्।

खालिद पयान्दा, अफगानिस्तानका पूर्वअर्थमन्त्री । जसको जीवन ३६० डिग्री ‘यूटर्न’ भइसकेको छ। गत वर्ष अगस्टमा मात्र उनले देशको ६ अर्ब डलरको वार्षिक सम्पत्ति सञ्चालन गरेका थिए। आज उनी अमेरिकामा पेट पाल्न क्याब चलाउने गर्छन्।

khalid 1

अफगानिस्तान अहिले तालिबान सरकारको कब्जामा छ। अमेरिकी सेनाले अफगानिस्तान छोडेपछि राष्ट्रपति असरफ गनी तथा उनको मन्त्रीमण्डल विदेश पलायन भएको थियो। विदेश पलायन हुने मन्त्रीमा खालिद पनि एक थिए। तर, उनको अवस्था राष्ट्रपति गनीको जस्तै छैन। उनी अमेरिकाको राजधानी वासिङ्टन डिसीमा क्याब चलाउने गर्छन।

वासिङ्टन पोस्टसँग कुराकानी गर्दै खालिद भन्छन्, ‘अबको दुई दिनमा मलाई ५० ट्रिप्स पुरा गर्नुछ। यो पुरा गरेको खण्डमा मलाई ९५ डलर बोनस प्राप्त हुनेछ।’

उनले कुराकानी कै क्रममा घरमा श्रीमती र चार केटाकेटी रहेको बताए। ‘केही पैसा बचाएको थिए। यसले घर खर्च चलिरहेको छ। मेरो देश अफगानिस्तानको अवस्था निकै खराब छ। महामारी थियो नै, अब सुख्खा पनि हुन थालेको छ’, खालिदले भने, ‘विश्वले सबै प्रतिबन्ध लगाएको छ। अर्थतन्त्र चौपट भइसकेको छ। तालिबानले महिलाको अवस्था रुग्न पारिसकेका छन्।’

अमेरिकाको जो वाइडन सरकारले अफगानिस्तानको अहिलेको अवस्थाको जिम्मेवारी तालिबान सरकारको टाउकोमा हालेको छ। वाइडनले भनेका छन्, ‘हामीले अफगान सरकारलाई सबै कुरा उपलब्ध गरायौं। उनीहरूको भविष्य राम्रो बनाउन मौका पनि दियौं।’साभार: drishyatv.com