वाइडेनले भने- ‘पुटिन जस्तो नरसंहारी सत्तामा रहिरहन हुँदैन’

काठमाडौं– अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘वधिक’ को संज्ञा दिँदै सत्तामा रहन नहुने बताएका छन्। पोल्याण्डको वार्समा शनिबार राति सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले युक्रेनमा रुसले ‘नरसंहार’ र ‘अत्याचार’ गरिरहेको बताउँदै समकक्षी पुटिनलाई ‘वधिक’को संज्ञा दिएका हुन्।
सम्बोधनको क्रममा वाइडेनले रुसी राष्ट्रपति पुटिननजिक रहेका व्यक्तिहरुलाई उनलाई सत्ताबाट हटाउन आग्रह गरेका छन्। ‘दमनकारी, हत्यारा, तानाशाह र आफ्नै लगायत धेरै देशहरूमा युद्ध अपराध गरेको व्यक्ति नेतृत्वमा छ,’ उनले भने,‘ यस्तो शासन परिवर्तन भन्दा अरू केको आशा राख्नु र? भगवानका खातिर, यो मानिस सत्तामा रहिरहन हुँदैन।’
यता, अमेरिकी अधिकारीहरुले रुसी राष्ट्रपति पुटिनले युक्रेनी भूमिमा कायम गरेको या गर्न खोजेको शक्ति गुमाउनु पर्ने सन्देश दिएको बताएका छन्। वाइडेनले सम्बोधन गर्दै गर्दा युक्रेनको सबैभन्दा बढी पश्चिमा समर्थित शहर ल्भिभमा रुसले मिसाइल प्रहार गरेको थियो। ल्भिभ पोल्याण्डको सीमाबाट मात्रै ४० दुरीमा रहेको छ।
ल्भिभको आवासीय क्षेत्रनजिक भएको सो मिसाइल आक्रमण स्पष्ट रुपमा अमेरिकालाई रुसी चेतावनीका रुपमा विश्लेषण गरिएको छ।
अमेरिकी राष्ट्रपति वाइडेनको टिप्पणीको जवाफ दिँदै रुसी राष्ट्रपति कार्यालयले पुटिन शक्तिमा रहने वा नरहने भन्ने निर्णय वाइडेनको नभई रुसी नागरिकको रहेको बताएको छ।साभार: drishyatv.com