हुथी विद्रोहीले युद्धविरामको घोषणा गरेलगत्तै साउदी गठबन्धनको आक्रमण

काठमाडौं– हुथी विद्रोहीले युद्धविरामको घोषणा गरेलगत्तै साउदी गठबन्धनले पुन: आक्रमण गर्न थालेको छ।

हुथी विद्रोहीले तीन दिनको युद्धविराम घोषणा गरे पनि आइतबार साउदी नेतृत्वको गठबन्धनका लडाकुहरूले यमनमा पुन: हवाई हमला गरेका हुन्।

साउदी अरेबियाको अल–अखबरिया टिभीका अनुसार राजधानी सानालाई लक्षित गरी हवाई हमला गरिएको हो। यो शहर हाल हुथी विद्रोहीको कब्जामा छ।  ट्वीटमा भनिएको छ,‘मध्यरातमा राजधानी सानामा हुथी विद्रोहीको शिविर र उनीहरूले कब्जा गरेको क्षेत्रहरूमा आक्रमण।’

समाचार एजेन्सी एएफपीका अनुसार हुथी विद्रोहीले साउदी गठबन्धनले हवाई हमला बन्द गरेमा शान्ति वार्ता सुरु गर्न सक्ने बताएका थिए। यससँगै उनीहरुले यमनको नाकाबन्दी रोक्न र ‘विदेशी सेना’ हटाउन पनि माग गरेका थिए।

हुथी विद्रोहीले सन् २०१४ मा साना कब्जा गरेका थिए। त्यसयता साउदी गठबन्धनका लडाकुहरूले उनीहरूविरुद्ध आक्रमण गर्न थालेका थिए। यो द्वन्द्वमा हजारौंको ज्यान गइसकेको छ। लाखौं मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघले यसलाई विश्वको सबैभन्दा ठूलो मानवीय संकट भनेको छ।साभार: drishyatv.com