ढोलाहिटी–लेले सडक अझै पनि चैतमा नसकिने

– सञ्चिता घिमिरे
काठमाडौँ, १४ चैत : विस्तारका क्रममा रहेको ललितपुरको ढोलाहिटी–लेले सडक चैतसम्ममा पनि नसकिने देखिएको छ । अन्तिम पटक कोभिडका कारण चैत मसान्तसम्मका लागि अवधि थप गरिएको भए पनि स्थानीयस्तरमा समन्वय हुन नसक्दा अझै निर्माण पूरा नहुने देखिन्छ ।

केही दिन पहिले मात्रै सुनाकोठही सडकको चाँडो मर्मतको माग गर्दै कलाकार मदनकृष्ण श्रेष्ठलगायतका व्यक्तिले सडकमा प्रदर्शन गरेका थिए । सडकका विभिन्न खण्डमा सडक खाल्डाखुल्डी हुँदा यातायात आवागमन असजिलो भएको भन्दै स्थानीयवासीले पटक–पटक चाँडो निर्माण गर्न माग गर्दै आएका छन् । काठमाडौँ उपत्यका सडक विस्तार आयोजना स्थानीयवासीको अवरोधका कारण ढिलाइ भएको बताएका छन् भने स्थानीयवासीले आयोजनाले विभिन्न बहानामा ढिलाइ गरेको आरोप लगाएका छन् ।

सडककै कारण दैनिक जोखिमयुक्त यात्रा गर्न परिरहेको चापागाउँकी सुमित्रा अधिकारीले बताउनुभयो । पछिल्लो चार–पाँच वर्षयता आफू पटक–पटक स्कुटरबाट लडेर घाइते भएको उहाँले बताउनुभयो । सडकमा भइरहेको अवरोधका कारण गन्तव्यमा पुग्न धेरै पटक ढिलाइ भएको उहाँले सुनाउनुभयो । अघिल्लो वर्ष सडक बन्न सुरु भएकाले अब सजिलो हुने आशा गर्नुभएकी उहाँ पुनः सडकको उही हालत देख्दा दिक्क हुनुभएको छ ।

उहाँले भन्नुभयो, “अबको १०÷१५ वर्षसम्म पनि सडक सुध्रेला जस्तो लागेन ।” सडकमा निर्माणको काम गर्न पाउँदा निर्धारित अवधिमा काम सम्पन्न गर्न समस्या नभए पनि निर्माणस्थल खाली नहुँदा अझै लामो समय लाग्नसक्ने आयोजनाका प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो । उहाँका अनुसार सडकको समस्या समाधानकै लागि जनप्रतिनिधिसँग पटक–पटक बैठक भए पनि त्यसले निष्कर्ष निकाल्न सकेको छैन ।

एक पटक सहमति भयो भनेर काम गर्ने भन्यो तर काम गर्न थालेपछि समस्या आउने गरेको उहाँले बताउनुभयो । सुनाकोठीमा पहिले निर्माण भएको खण्डमा रोलर प्रयोग हुन नपाएकाले सम्पन्न नहुँदै कालोपत्र उप्केको थियो । अहिले पनि सो स्थानमा रोलर चलाउन स्थानीयवासीले अनुमति दिने अवस्था छैन । केही समय पहिले आयोजनाले रोलर नै चलाउन नपर्ने गरी ढलानको ठेक्का निकालेको प्रमुख ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले सूचना निकाल्दा कसैले पनि आवेदन नदिएको पुनः सूचना निकालिएको छ ।” ढलानका लागि पुनः गरिएको सूचनामा आवेदन नपरेमा आयोजना आफैँले सामान्य मर्मत गर्ने प्रमुख ओझाले बताउनुभयो । उहाँका अनुसार आयोजनाले सामान्य खाल्डा टाल्ने काम मात्रै गर्नसक्छ । सुनाकोठीमा सडक निर्माण गर्नुपर्ने दुई खण्डमध्ये एउटा खण्डमा कालोपत्र र अर्काेमा ढलान गरिनेछ । पहिले कालोपत्र गरिएको खण्डमा सडक बिग्रिएकामा पुनः गर्न लागिएको हो । सुनाकोठीको भित्री बस्ती क्षेत्रमा पर्ने यी दुबै खण्डमा काम गर्न सजिलो नभएको आयोजना प्रमुख ओझाले बताउनुभयो ।

चालू ठेक्कामा निर्माण व्यवसायीले काम गर्दा पहिले विग्रिएको ठाउँमा मर्मत गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिले सम्पन्न भइसकेको ठेक्कामा नयाँ ठेक्कबाट गर्नुपर्छ ।” सुनाकोठीका खाल्डा बढी बढी भएको खण्डमा अहिले मर्मतको काम एक सातामा सकिने आयोजनाले जनाएको छ । सडक विस्तारका घर भत्काउन, विस्तार र नाली राख्नका लागि सो खण्डमा ठाउँ नदिइएकाले जति उपलब्ध छ त्यतिमा नै कालोपत्र गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म यही महिनाभित्रमा पिच गरिसक्न लागेका छौँ ।”

ढोलाहिटी–लेले सडक ठाउँ ठाउँमा निर्माणको काम बाँकी छ । खासगरी बस्ती क्षेत्रमा बढी समस्या रहेको आयोजना प्रमुख ओझाले बताउनुभयो । विस्तारका लागि ठेक्का भए पनि सुनाकोठी–चापागाउँ खण्डमा विस्तारको काम गर्न नसकिएको आयोजना प्रमुख ओझाले बताउनुभयो । चापागाउँबाट टिकाभैरबसम्म जङ्गल क्षेत्रमा निर्माणको काम झण्डै अन्तिम चरणमा छ ।

उहाँले भन्नुभयो, “केही खण्डमा समस्या भए पनि अधिकांश स्थानमा सम्पन्न भइसकेको छ ।” ढोलाहिटी–लेलेसम्मको सडक चैतसम्मको अवधि भए पनि काम गर्न नपाउँदा अवधि थप चाहिन सक्छ । विगतमा पटक–पटक अवधि थप भएकामा पनि निर्माण कम्पनीले काम गर्न नपाएका कारण पुग्दा अवधि थपिन सक्छ । (रासस)