एमाले एक्लै चुनाव लड्छ : अध्यक्ष ओली

सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार उदघाटन भक्तपुरको सूर्यविनायकमा व्यवसायी दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार बुधबार उदघाटन गर्दै नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : रमेश गिरी/रासस

भक्तपुर, १६ चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ ।

व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको ‘सूर्यविनायक हरित कृषि तथा थोक बजार प्राली’को उद्घाटन गर्दै उहाँले एमालेले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने बताउनुभएको हो ।

अध्यक्ष ओलीले एमालेकै नेतृत्वमा देशमा समृद्धि ल्याइने पनि बताउनुभयो । उहाँले भारतसँग मात्र नभएर चीनसँग पनि पारवहन सम्झौता भएको उल्लेख गर्दै नेपालले समुद्रबाट पनि सामान ल्याउन सक्ने र ठूला जहाज आउन सक्ने बन्दरगाह खोलेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र एमाले सांसद महेश बस्नेतले देशमा स्थानीय तहको निर्वाचन आएसँगै एमालेको लहर आएको दाबी गर्नुभयो ।

त्यसअवसरमा व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा ५० रोपनी क्षेत्रफलमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । (रासस)