विश्वको नजर अफगानिस्तानको जमिनमुनि दबिएको अथाह सम्पत्तिमा
काठमाडौं– विश्वको नजर अफगानिस्तानको जमिनमुनि दबिएको अथाह सम्पत्तिमा छ। त्यहाँ सुन, तामा र धेरै विरलै उपलब्ध हुने लिथियम छ।
एक अनुमानका अनुसार यसको मूल्य एक ट्रिलियन डलरभन्दा बढी हुन सक्छ। तर, अहिले तालिवानले देश कब्जा गरेपछि यो सम्पत्तिमा कसको अधिकार हुनेछ भन्ने प्रश्न उठिरहेको छ।
अमेरिकाले आफ्नो २० वर्षे शासनकाल समाप्त गर्ने निर्णय गरेलगत्तै तालिवानले आफ्नो खुट्टा फैलाउन थाले। वर्षौंदेखि युद्धको अवस्थाको सामना गरिरहेको यस देशमा तालिवान फेरि सत्तामा फर्किएको छ।
तर, के तालिवानले यहाँ रहेको प्राकृतिक सम्पदा, मानव संसाधन र भौगोलिक अवस्थाको फाइदा उठाउन सक्छ त?
अफगानिस्तानका पहाड र उपत्यकाहरूमा तामा, बक्साइट, फलामका साथै सुन र संगमरमर जस्ता बहुमूल्य खनिजहरू रहेको सोभियत र अमेरिकी वैज्ञानिकहरूले दाबी गरेका छन्। अफगानिस्तानले अहिलेसम्म उत्खनन गरेर बेच्न नसकेको भएतापनि त्यसबाट हुने आम्दानीले जनताको जीवन परिवर्तन गर्न सक्छ।
त्यहाँका बहुमूल्य बस्तु निकाल्न भारत, बेलायत, क्यानडा र चीनका लगानीकर्ताले त्यहाँ धेरै सम्झौता गरेका थिए। तर, कुनै पनि खानीमा उत्खन्न सुरु गरेनन्।
सन् १९६० मा सोभियत संघका भूवैज्ञानिकहरूले अफगानिस्तानमा अथाहा बहुमूल्य बस्तु रहेको पत्ता लगाएका थिए। तर, त्यसपछिको आधा शताब्दी अफगानहरू कहिले सोभियत सेनासँग लडे त कहिले आफैँ लडे। त्यसपछि अमेरिका र उसका सहयोगीहरूले हस्तक्षेप गरे।
नक्सा र फाइलहरूमा धुलो जम्मा हुन थाल्यो। न त खानी सुरु हुन सकेको छ न कारखाना नै निर्माण हुन सकेको छ। जमिनबाट तामा र फलाम निकाल्न नसक्दा त्यहाँका पहाडलाई रातो र हरियो रङ लगाइएको छ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसारयसभन्दा पहिला ल्यापिस लाजुली, पन्ना र माणिक मात्र हातले उत्खनन गरिएको थियो। यो सबै मुख्यतया: तालिवानको नियन्त्रणमा नभएका क्षेत्रहरूमा गरिएको थियो र पाकिस्तानमा तस्करी गरिएको थियो।
यस अवधिभर अफगानिस्तानको अर्थतन्त्रको आधार खनिज स्रोत नभइ कच्चा अफिम थियो। अफिमको उत्पादन, निर्यात र उपभोगले देशको सम्पूर्ण आर्थिक गतिविधिको लगभग १० प्रतिशत ओगटेको संयुक्त राष्ट्र संघको अनुमान छ। अफगानिस्तानको अन्य सबै वस्तुको निर्यातको तुलनामा अफिमको निर्यात दोब्बर छ।
प्राकृतिक स्रोतसाधनले धनी राष्ट्रले विश्व बजारमा तामा वा लिथियमको आपूर्तिमा कुनै भूमिका खेल्दैन। तर, कच्चा अफिम र हेरोइनको ८५ प्रतिशत आपूर्ति गर्छ।
२० वर्षे आफ्नो उपस्थितिको समयमा अमेरिकाको खानी उद्योगले अनुकूल अवस्था सिर्जना गर्नको लागि प्रयास गरेको थियो। अमेरिकाले अभिलेखबाट सोभियत नक्सा निकालेर त्यसमा आधार बनाएर आफ्नै नक्सा बनाउन थालेको थियो।
संयुक्त राज्य भूगर्भ सर्वेक्षणले एक दशकभन्दा बढी समय लगाएर ४० टेराबाइट डाटा सङ्कलन गरेको छ र अफगानीहरूलाई त्यसको सुरक्षा गर्न तालिम दिएको छ।
हाइपरस्पेक्ट्रल इमेजिङ प्रयोग गरेर लगभग १०० प्रतिशत अनुसन्धान सञ्चालन गर्ने अफगानिस्तान विश्वको पहिलो देश बन्यो। तर, नक्साबाट स्रोतसाधन मात्र अनुमान गर्न सकिन्छ, व्यवसायिक उत्पादन गर्न सकिँदैन।
एक अनुमानका अनुसार अफगानिस्तानमा लिथियम र अन्य दुर्लभ धातुहरूको ३ ट्रिलियन डलर भण्डार छ। तर, उत्खनन गर्न पैसा, प्रविधि र पूर्वाधार चाहिन्छ, जुन अफगानिस्तानसँग छैन।