शेयर बजार १५ अङ्कले घट्यो

काठमाडौं । शेयर बजार परिसूचक नेप्से मङ्गलबार पनि दोहोरो अङ्कले घटेको छ । सोमबार झन्डै ३५ अङ्कले घटेको नेप्से आज १५ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार तीन सय ७० दशमलव ९९ विन्दुमा झरेको छ ।
आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि निकै कमी आएको छ । दुई सय २८ वटा कम्पनीका ३४ लाख १९ हजार कित्ता शेयर एक अर्ब चार करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिद्धार्थ बैंकको चार करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज हिमालयन पावर पार्टनर र मल्टिपर्पोज फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।