ओली र दाहाल एकअर्कासँग तर्सिनुको यस्तो छ कारण


काठमाडौं ।  दूरी बढेको हल्ला छिप्पिनै लाग्दा सत्तारूढ नेकपाका दुइजना अध्यक्षले लामै गोप्य वार्ता गरेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोवध्र्दन पूजाका दिन सोमबार बालुवाटारमा गरेको वार्ताको विवरण भने गोप्य नै राखिएको छ ।

परम्परागत शैलीमा दुइ अध्यक्षवीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको मात्र भनिएको छ। प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकुमा सम्पन्न असंलग्न राष्ट्रको अठारौं सम्मेलनमा सहभागी हुन गएका बेला प्रचण्डले आफूहरुवीचको सम्बन्धमा न्यानोपन कम हुँदै गएको आशयको अभिव्यक्ति दिएका थिए । त्यसपछि स्वदेश फर्किने बित्तिकै ओलीले दाहाललाई सरकारी निवासमा बोलाएका थिए । 


केही दिनअघि दुई अध्यक्षबीच दूरी बढेको भनेर नेकपाभित्र नै निकै चर्चा भएको थियो । पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव र कार्यकारी अधिकार दाहाललाई दिन ओलीले अनिच्छा देखाएपछि दुई अध्यक्षबीच विवाद देखा परेको नेताहरुको भनाइ थियो। आफूलाई ओलीले समझदारी अनुसारको व्यवहार नगरेको भन्दै प्रचण्डले कनिष्ठ नेताहरुसँगै गुनासो गर्ने गरेका थिए । 

प्रधानमन्त्री ओलीको भदौ ५ को सिंगापुर भ्रमणअघि नेता वामदेव गौतमलाई उपाध्यक्ष, झलनाथ खनालको वरिष्ठतासँगै दाहाललाई पार्टी कामको कार्यकारी जिम्मा दिने समझदारी नेताहरूबीच भएको दाहाल पक्षका नेताको भनाइ थियो। 

त्यही समझदारीअनुसार सचिवालयले खनाल र गौतमका विषयमा निर्णय लिए पनि दाहाललाई ओली नहुँदा एउटा बैठकका लागि मात्र पार्टीको अध्यक्षता गर्न दिएको र त्यसपछि फेरि प्रधानमन्त्रीले अधिकार दिन अनिच्छा देखाएएपछि दाहाल र ओलीबीच दूरी बढेको नेताहरुले बताएका थिए। 

यसपटकको भेटले नेताहरुवीचको दूरी घटाउने दावी गरिएको भएपनि प्रचण्डको नेतृत्वमा चढ्ने प्रबल चाहना र पूरा कार्यकाल आफैंले शासन गर्ने ओलीको अठोटवीच कसरी तालमेल हुने हो भन्ने नेकपाका नेताहरु नै अन्योलमा देखिन्छन्।

सत्ताप्रतिको आसक्ति नै नेकपा अध्यक्षद्वयको मनमुटावको मूल कारण भन्ने स्पष्ट भएपनि प्रचारमा पार्टी एकिकरणको बाँकी काम भन्ने गरिएको छ । तर प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र बामदेव गौतमसँग दिनदिनै बढाउँदै लगेको हिमचिमले ओलीसँगको सम्बन्ध तत्काल न्यानो बनाउने सम्भावना क्षिण देखिन्छ ।