सुरक्षार्थ


-ध्रुव मधिकर्मी
यो नैतिक शिक्षाको जगजगी चलेको युगको कथा हो ।
एकदिन एकजना कृषकाय बाहुन दानमा पाएको एउटा बाख्रा डोर्याउँदै घर फर्किरहेको थियो । यसलाई घर लगेर कुनै दिन छप्काएर मज्जासँग भोज गर्नुपर्छ भन्ने मनमनै सोच्दै आइरहेको थियो । बाटोमा एउटा ठग भेटियो । ठगले भन्यो – बाजे, कुकुर डोर्याएर कहाँ जाँदै हुनुहुन्छ ?
बाहुन एकछिन अकमकियो । कोही अपरिचितले एक्कासि आएर केही भनिदिएकाले एकछिन त के भनूँ भनूँ भयो । तर जो पायो त्यसको कुरा सुन्नु हुन्न भन्ने बोध भएपछि तत्काल सचेत भयो । ए मूर्ख, यो कुकुर होइन, बाख्रो हो क्या बाख्रो !, बाहुनले भन्यो ।
कस्तो बाहुन रहेछ ! कुकुर र बाख्रा पनि छुट्याउन नसक्ने ! , भन्दै ठग आफ्नो बाटो लाग्यो । अलि पर फेरि अर्को ठग भेटियो । त्यसले भन्यो – ए बाजे, कुकुरलाई यो के गर्नुभएको , राम राम !
बाहुनलाई झोंक चल्यो । कसैले उसलाई विनसित्ति जिस्क्याए जस्तो पनि लाग्यो । ए महामूर्ख ! आँखा छैन तेरो ? राम्ररी हेर यो कुकुर होइन, बाख्रो हो क्या बाख्रो , बाहुनले अलि झर्केर भन्यो ।
ए बाजे किन झर्कनुहुन्छ , राम्ररी हेरेर त भन्दैछु । तपाईँ सोझो जस्तो लागेर पो भनेको । तपाईँलाई यो कुकुर बाख्रा लाग्छ भने त्यै सही । तर होस् गर्नुस् है बाजे, कुकुर मारेको पाप लाग्ला …। दुनियाँले के भन्छ ?
यति भन्दै त्यो ठग पनि आफनो बाटो लाग्यो र जाँदाजाँदै बाहुनले सुन्नेगरी भन्यो – कस्तो जमाना आएछ, केही नपाएर बाहुनले कुकुरको मासु खान थालेछ, छि छि !
त्यसपछि तेस्रो ठग भेट भयो । त्यसले पनि भन्यो – ए बाजे, अरु केही पाउनुभएन , यसरी कुकुरलाई खुलेआम घिच्याउन ! अलिकति आफ्नो ईज्जतको ख्याल त राख्नोस् ।
अब भने विचरा बाहुनको मनमा चिसो पस्यो । आफूले डोर्याएको बाख्रालाई यसो हेर्यो । बाख्रा त साँच्चिकै कुकुरजस्तो लाग्यो । कुकुरै हो कि , शंका लाग्यो । लाग्यो के हेर्दाहेर्दै कुकर नै लाग्यो । बाख्रा भनैरै दिएका हुन् । कस्तो झुक्याएछन् । त्यसो त ऊ जस्तो सोझो बाहुनलाई बाखा भनेर कुकुर दान दिएको हो कि के बेर ! बाटोमा जति पनि भेटिए सबैले त्यतिकै त विनसित्ति कुकुर भनेनन् होला ! कुकुरै भएर त भने होलान् नि ! पक्कै मलाई बाखा भनेर जजमानले ठगेकै हुनुपर्छ । यसलाई बाख्रा भनेर घरमा लगें भने जहान परिवारले क भन्ला !
यो त आफू स्वयम् पटमूर्ख हुने कुरा भयो ।
त्यसपछि बाहुन बाख्रालाई त्यही छोडी घर फक्र्यो ।
यता मिलोमतोका ठगहरुले बाखालाई समातेर मज्जासँग भतेर मनाए ।
यो नैतिक युगको कथा थियो । त्यसैले नीतिले जे भन्यो, त्यही गरिन्थ्यो । तर अब नैतिक युग रहेन । अबको युग भनेको राजनीतिको युग हो अर्थात् सरासर ढाँट, छल र कपटको युग हो । राजनीतिले जे माग्यो, जे चाह्यो त्यही हुने र गरिने युग हो । युग मात्र परिवर्तन भएको होइन अहिले त धेरै थोक पत्याउनै नसकिने गरी परिवर्तन भइसकेको छ । त्यतिबेला ठगिने र ठगहरु सबै अहिले राजनीतिमा आएर जमिसकेका छन् ।
त्यसकै एउटा नमूना हो तपसिलको प्रसङ्ग पनि ।
यसपटक बाहुनका ठाउँमा नेता थिए । उनी बोका होइन अजङ्गको बाघ डोर्याउँदै आइरहेका थिए । बाघ बाख्रालाई झैं काटेर खानलाई नभई बरु बाघले राम्रैसँग शिकार गर्ला र ठूलो भाग पाउँला भनी डोर्याइरहेका थिए । बाटोमा हिंडिरहेका मान्छेहरु बाघलाई देखेर डरले परपर भाग्ने थाले । कोही अगाडि परेनन् । बाघलाई देख्नासाथ मान्छेहरु परैबाट तर्केर जान थाले ।
बाघ देखेर तर्सेर भाग्न लागेका एउटा मान्छेलाई रोक्दै नेताले भन्यो – ए भाइ, किन डराउँछौ ? यो बाघले केही गर्दैन । नडराऊः ।
त्यो मान्छेले के सुन्थ्यो । तर्केर पर पुगिहाल्यो ।
त्यसैगरी तर्केर जान खाजेका अर्कोलाई भने – ए भाइ, नभाग यो त कुकुर जतिकै स्वामिभक्त हो । मेरो आदेशविना यसले केही गर्दैन ।
भाग्न नसकेर अगाडि परेको त्यो मान्छे लगलग कामिरह्यो । यता बाघ भने त्यसलाई खाउँला झैँ घुरेर दा¥हा देखाउँदै थियो ।
– डराउनु पर्दैन, यसले त हाम्रो रक्षा गर्छ, नेताले आश्वस्त गराउन खोजे ।
– हजुर, बाघले पनि कहीँ मान्छेको रक्षा गर्छ र ! त्यो मान्छेले डराई डराई भन्यो ।
– धत् लाटा, के म महामूर्ख हुँ र ! राम्रोसँग हेर, यो विशेष जातको बाघ हो, यसले हाम्रो घरटोल मात्र होइन, सिङ्गो मुलुककै पनि रक्षा गर्छ । अब कुनै चोर डाकु बदमासले हाम्रो धनमाल चोर्न सक्दैन, बुझ्यौ ?
– हजुर, यसले हाम्रो सुरक्षा होइन उल्टो हामीलाई नै सखाप पार्छ । अहिले नै हेर्नुहोस्, मलाई दाह्रा देखाउँदैछ, त्यो मान्छेले भन्यो ।
– ए स्वाँठ, कस्तो डरछेरुवा रहेछस् तँ । हाम्रो सुरक्षाका लागि ल्याएँ भन्दैछु । उल्टो हामीलाई नै सखाप पो पार्छ भन्छौ । योसित भएको दाह्रा त देखाइहाल्छ नि । त्यही दाह्रा भएकाले नै त हो ल्याएको, नेता सम्झाउने पारामा नरमसँग तर्साउँदै पनि थिए ।
– त्यही दाह्रा भएकोले नै भनेको हुँ हजुर । यसलाई बाटोमा लिएर नहिंंड्नुस् । सुरक्षित ठाउँमा कहीँ बाँधेर राखौंं हजुर । यसको केही भर छैन । सिक्री चुँडालेर भाग्यो भने अर्को आपद आइलाग्छ । यसले न मालिक भन्छ न मालिकले चिनेजानेका नै ।
– ए पामर, यसलाई बाँधेर राखेर कहीँ हाम्रो सुरक्षा गर्न सक्ला । हाम्रो सुरक्षा गर्ला भनेरै यसरी बाहिर सबलाई देखाउँदै घुमाउन ल्याएको, उनले ठूलै बाणी बोलेझैं गरी सम्झाए ।
– तैपनि यो तपाइँसितै रहला बस्ला भन्ने लाग्दैन हजुर , त्यसले सम्झाउन खोज्यो ।
– ए मूर्ख ! यसलाई मैले ल्याएको कि तैंले हँ ?, नेताले अलि कडाइका साथ सोधे ।
– त्यो त तपाइँले नै हो ।
– अनि त मैले ल्याएपछि मेरो कुरा पत्याउन पर्दैन ?, नेताले बडो गौरवपूर्वक भने ।
– तपाइँलाई त पत्याउँला तर त्यो दाह्रा भएको जन्तुलाई कसरी पत्याउने ?
– मलाई पत्याएपछि यसलाई पनि पत्याउनुपर्छ । लौ हेर, अब म यसलाई छाड्छु अनि थाहा पाउनेछौ यसले कसरी सुरक्षा गर्छ भनेर । , यति भनेर नेता महोदयले आफूले बाँधेको सिक्री फुकालिदियो ।
त्यो मान्छे के हेरेर बस्थ्यो । त्यति सुन्नासाथ नै त्यहाँबाट कुलेलम ठोकिहाल्यो ।
बाघ अहिले नेताको कृपाबाट फुत्केर मज्जासित शहर बजार घुम्न थालेको छ । बाघ शहरबजारमा नेताको सुरक्षार्थ घुम्न थालेदेखि मान्छेलाई ससाना हिंस्रक जन्तुको डर त रहेन बरु भोको बाघले नै केही गर्ला भनेर डराउँदै हिंड्न परिरहेको छ । त्यसैले शहरबजारमा घुम्दै हिंडेको बाघ देख्न सकिन्छ तर मान्छे भने लुक्दै हिंडेको देखिन्छ ।
