प्रचण्डको एण्टेना र नेपालगञ्ज घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो छटपटीपछि फेरि मुख खोलेका छन्, उनी फेरि सत्ताको शिखरमा चढ्न आतुर छन् । 

मध्यपश्चिमको राजधानी मानिने नेपालगञ्ज पुगेर प्रचण्डले आफ्नो मनसुवा सार्वजनिक गरिरहँदा सत्ताको कमाण्ड सम्हालिरहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको मनमा चस्का पसेको हुनुपर्छ । केही दिनयता तिव्र गतिमा महत्वपूर्ण निर्णय गरिरहेका ओलीलाई बिस्थापित  गरेर या दावी गरिए जस्तै हो भने ‘पूर्व सहमति अनुसार आलोपालो’ का आधारमा मात्र प्रचण्ड निकट भविष्यमा प्रधानमन्त्री बन्न सक्छन् । अन्यथा ओली बसिरहेको सत्ताको आशनमा सजिलै बस्न प्रचण्डलाई त्यति सरल देखिँदैन । तर जे भएपनि प्रचण्डले आफू सत्ता बाहिर बस्दाको छटपटी शान्त हुनेगरी प्रधानमन्त्री बन्न हतारो भएको घोषणा भने गरेका छन् । उनको प्रष्ट भनाई छ– ‘ढिलोचाँडो म फेरि प्रधानमन्त्री बन्ने छु ।’ मंगलबार नेपालगञ्जका व्यवसायीहरुको माग–पत्र बुझ्दै प्रचण्डले आफू ढिलोचाँडो प्रधानमन्त्री बन्ने र त्यसपछि ती सवै माग पूरा गर्ने बचन समेत दिएका छन् ।

यस्ता छन् प्रचण्ड

बिगतको राजनीतिक यात्रा नजिकैबाट नियाल्नेहरु प्रचण्डलाई नेपाली राजनीतिमा सर्वाधिक चलाख र धूर्त नेता मान्छन् । उनको नयाँ घोषणापछि अब सत्ताको खेलमा मुख्य दुई प्रतिस्पर्धी हुनेछन् प्रचण्ड र ओली । राजनीतिको खेल सरल हुँदैन, झन् सत्ताको खेल बक्र रेखाबाट चल्छ र बक्र राजनीतिका माहिर खेलाडी हुन् प्रचण्ड । भनिन्छ,‘प्रचण्डको टाउकाको हरेक कपाल एन्टेना हो, हरेक कपालले सूचना लिन्छ अनि विश्लेषण गर्छ ।’ उनको यही विशेषणका आधारमा भनिने गर्छ–‘प्रचण्डले हार्न जानेका छैनन्, हारे भने त्यही हारलाई जितमा परिणत गर्ने क्षमता राख्छन् ।’ 

हार्न नजानेका प्रचण्ड

प्रचण्डको करियर हेर्दा उनमा हारलाई जितमा परिणत गर्ने विलक्षण खुबी देखिन्छ । ०४८ को चुनावमा प्रचण्डको पार्टी निकै सानो तेस्रो बन्यो, एमाले दोस्रो भयो । कम्युनिष्टको रीस कम्युनिष्टसँग अलि बढि नै हुने युग थियो त्यो । प्रचण्डको प्रत्यक्ष नेतृत्वको एकता केन्द्र र भित्री नेतृत्वको संयुक्त जनमोर्चाको रीसडाहा एमालेप्रति छताछुल्ल देखिन्थ्यो । तेस्रो भएकोमा भन्दा पनि एमालेभन्दा सानो भइएकोमा आक्रोश झल्कन्थ्यो ।

त्यसपछि समग्र राज्यसत्ता कब्जा गर्ने लालसा बोकेर प्रचण्ड जनयुद्धमा होमिए । त्यसबेला भारतमा नक्सलवादीहरु सकिने अवस्थामा थिए, पेरुमा गोञ्जालो पक्राउ परिसकेका थिए । विश्वभरी कम्युनिष्ट आन्दोलन रक्षात्मक थियो । त्यस्तो बेला जनयुद्ध थाल्ने दुस्साहस प्रचण्डले गरे । जनयुद्धमा प्रचण्डले जित्दै गए । पार्टीभित्र बाबुराम बेलाबखत निहँु खोज्थे तर तह लगाउँदै अघि बढे । पछि त बाबुरामलाई कैद नै गरे । बाबुरामको गिरफ्तारीले भारत रिसायो, भारतीय दवाबपछि प्रचण्डले बाबुरामसँग सम्झौता गरेको जगजाहेर भइसकेको छ । प्रचण्डले बाबुरामलाई भारतसँग सम्बन्ध बढाउने सूत्रका रुपमा प्रयोग गरे । त्यतिबेला पनि बाबुराम भारतीय संस्थापनको अत्यन्त निकट मानिन्थे । बाबुराम मार्फत् प्रचण्डले भारतलाई विश्वासमा लिए । कति विश्वासमा लिए भने १२ बूँदे सहमति त्यही विश्वासको जगमा भयो । 

भारतको विरोध गर्दै थालिएको जनयुद्ध भारतकै राजधानीमा १२ बूँदे सहमति गरेर एक ढंगले टुंगियो । प्रचण्डले अकल्पनीय छलांग मारे । १२ बूँदे सहमति गर्नु प्रचण्डको दिग्विजय नै सावित भयो । त्यो सहमतिले माओवादी र प्रचण्डको डुंगा भुँमरीबाट किनारमा सुरक्षित आइपुग्यो । प्रचण्डले सिंहदरबारको कुर्सीमा अवतरण गरे । प्रधानमन्त्री बने । जितेरै छाडे । 

जनयुद्ध जारी राखिएको थियो भने प्रचण्ड कहाँ हुन्थे कसैले भन्न सक्दैन । कि उनी आक्रमणको शिकार हुनेथिए या पेरुका गोन्जालो झैं कालकोठरीमा हुन्थे । जनयुद्धकारीहरु तितरवितर भइसक्थे । उनको पछिल्लो बिजयको छलांग हो एमालेसँग चुनावी गठवन्धन र पार्टी एकीकरण गर्ने निर्णय । 

यति ठूलो दौडधुप र राजनीतिक जूवा खेल्न सक्ने नेता हुन् प्रचण्ड । दुस्साहसका चरम नमूना हुन् प्रचण्ड । तर, उनको दुस्साहस निकै सुविचारित हुन्छ भन्नेतिर पनि ध्यान दिनुपर्छ । माओवादीलाई वैचारिक रुपमा ‘एमाले’ बनाउनु चानचुने छलाङ होइन प्रचण्डको ।

विलक्षण खुबी

जनयुद्धको उग्रतादेखि १२ बूँदेसम्मको लचकता प्रचण्डकै कारण सम्भव भएको मानिन्छ । प्रचण्ड थिएनन् भने शायद जनयुद्ध सुरु नै हुँदैनथ्यो भन्नेहरु पनि छन् । प्रचण्डबिना जनयुद्ध गरिएको थियो भने यो ढंगको अवतरण पनि हुँदैनथ्यो होला । प्रचण्डमा जुन उग्रता र लचकता देखिन्छ, माओवादी नेता कसैमा यस्तो विशेषता देखिँदैन । सधैं आफूलाई निर्णायक बनाउने र केन्द्रमा राख्ने खुबी छ प्रचण्डको ।

संविधानसभा चुनावपछि प्रचण्डले नारायणकाजी श्रेष्ठ नेतृत्वको चार सिटमात्र भएको एकताकेन्द्र (जनमोर्चा नेपाल)सँग एकीकरण गरेर ठूलो हिस्सा दिए । नेतृत्वमा आफू रहने, आफूभन्दा तल बहुकेन्द्र सिर्जना गरेर अरुलाई जुधाएर आफू सुरक्षित रहने रणनीति अनुसार एकीकरण गरेका थिए उनले ।

प्रचण्डको बठ्याईं र पार्टी संचालन पद्धति बुझ्न तत्कालिन माओवादीको चारहजार सदस्यीय केन्द्रीय समिति तर्फ फर्केर हेर्नुपर्छ । जम्बो समितिले निर्णय लिनसक्दैन भन्ने प्रष्टै थियो । चारहजार जनाको समिति बनाएर उनी निर्णायक बने । जम्बो समिति बनाएपछि माओवादीका हरेक निर्णय प्रचण्डले चाहे अनुसार नै एकलौटी भएको इतिहास छ । आफू नेतृत्वमा रहिरहन ठूलो भाग दिन पनि तयार हुन्छन् प्रचण्ड । उनको विगतले यही देखाउँछ । बुझ्नु के पर्छ भने हार्नलाई होइन जित्नलाई प्रचण्डले एमालेसँग एकीकरण गरेका थिए ।

यसअघि ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भारतले प्रचण्डलाई प्रयोग गरेकै हो । यसको अर्काे पक्ष छ ( प्रचण्डले पनि प्रधानमन्त्री बन्न भारतलाई उपयोग गरे । प्रचण्डको कार्यकालमा भारत अप्ठेरोमा फस्दै गयो । चिनियाँ प्रभाव नेपाल सहित दक्षिण एसियामा बढेकोमा भारतभित्र चिन्ता सुरु भयो । त्यसैले भारतले प्रचण्डलाई धेरै दवाब दिन सकेन । यही मौकाको फाइदा उठाउँदै प्रचण्डले चीनलाई पनि रिझाए । बेल्ट एण्ड रोड परियोजनामा चीनसँग अगाडि बढे । भारत र चीनलाई रिझाउने र खेलाउने काम प्रचण्डले गरेकै हुन् । त्यसैले दुवैको नजरमा अविश्वशनीय पनि बने । अविश्वास गर्दागर्दै पनि प्रचण्डलाई रिझाउनु भारत र चीनको वाध्यता बनेको थियो ।

अब हेरौं प्रचण्डको खेल

प्रचण्डले सजिलै ओलीलाई प्रधानमन्त्री बनिरहन दिने छैनन् भन्ने अब प्रष्ट हुँदै गएको छ । ओलीलाई प्रधानमन्त्री पद, आफूलाई चाहिँ के ? प्रचण्डले एमालेसँगको वार्तामा उठाइरहेको यो प्रश्न नाजायज थिएन । प्रचण्डले आफू कहिले प्रधानमन्त्री बन्ने भन्ने सुनिश्चितता खोजिसकेका छन् पटक पटक । यो सुनिश्चितता नभई उनी शान्तसँग बस्लान भनेर ठान्नु गल्ती हुनेछ ओलीका लागि ।

सत्ता बाहिर बसेपनि प्रचण्डले अनेक वैकल्पिक रणनीति अपनाइरहेका छन् । कहिलेकाहीँ कांग्रेसप्रति उनको नरम भाव देखिन्छ । यो नरमपना अकारण होइन, यसले भविष्यमा हुने कठोर संसदीय गणितको खेलतर्फ इशारा गर्छ । प्रचण्डको अर्काे रणनीति हो– क्रमशः परिस्थिति बिगार्दै जाने, दोष ओलीको टाउकोमा हाल्ने र आफू बेग्लै बाटोमा अगाडि बढ्ने ।
अहिले प्रचण्डको रणनीति हो– पार्टीको एकल अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदमा वार्गेनिङ गर्नु । सके पार्टीको एकल अध्यक्ष हात पारेर संगठन कब्जा गर्ने, नसके भविष्यमा आफू कहिले प्रधानमन्त्री बन्ने मिति टुंगो लाउने । बाहिरबाट हेर्दा यही देखिन्छ । 

नेपाली राजनीति कुनै चामत्कारिक घटनाको सँघारमा छ र त्यो घटनाका सूत्रधार प्रचण्ड नै हुनेछन् । प्रचण्डको नेपालगञ्ज घोषणाले यही संकेत गरेको बुझ्न सकिन्छ ।- सरल पत्रिका