सत्तारुढ दलमा सत्ताको दाउपेचः ओली अभिभावक,बामदेव कार्यबाहक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको खस्कँदो स्वास्थ्य अवस्था,नेकपाभित्रको घनिभूत सत्ता दाउपेच र सरकारी सन्यन्त्रको निष्प्रभावी कार्यसंचालनको मूल्याङ्कन गर्दै मन्त्रीपरिषद्मा फेरबदलको तयारी भएको बुझिएको छ । खासगरी प्रधानमन्त्री ओली आफैंले यी सबै पक्षको मूल्याङ्कन गरेपछि सरकार र सरकारी सन्यन्त्रमा उल्लेखनीय फेरबदल गर्न तयार भएको जानकार सूत्रले बताएको छ । 

सरकारी सन्यन्त्र र सल्लाहकार सहितका सहयोगीहरुमा त्याग भन्दा स्वार्थ बढी हावी भएको मूल्याङ्कन गरेका प्रधानमन्त्री ओलीले निर्मम ढंगले फेरबदल गर्ने तयारी गरिसकेका निकटस्थ सूत्रले सरल पत्रिकासँग बताएको छ । आसन्न उपनिर्वाचनपछि यो काम हुने बुझिएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधारको आशा गरिएको भएपनि सन्तोषजनक नभएको जानकार सूत्रहरु बताउँछन् । हालै सिंगापुरको नेशनल अस्पतालमा पठाईएको प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य सम्बन्धी सूचनाको त्यहाँ परीक्षण गरिएपछि आउने जवाफको प्रतिक्षा गरिएको छ । त्यहाँबाट आउने जवाफपछि कस्तो र कहाँ थप उपचार हुने भनेर टुंगो हुने छ । फेरि मिर्गौला प्रत्यारोपण गर्ने कि अरु नै उपचारको सहारा लिने भनेर सिंगापुरको जवाफपछि मात्र निश्चित हुनसक्ने भनेर प्रतिक्षा गरिएको बुझिएको छ । सूत्रका अनुसार,फेरि प्रत्यारोपण गर्नुपर्ने भएमा सिंगापुर या अमेरिका जानुपर्ने छ, प्रधानमन्त्री ओली ।

बामदेवको उदय 

यता,नेकपाको आन्तरिक सत्ता संघर्षले पनि नयाँ मोड लिएको थाहा भएको छ । उपनिर्वाचनपछि आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै ओलीले स्वेच्छाले प्रधानमन्त्री पदबाट विश्राम लिने सम्भावना रहेको बुझिएको छ । ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नै नदिए उनको विश्वासपात्रलाई कार्यबाहकको जिम्मेवारी दिनेगरी भरपर्दो विकल्प खोजिने रणनीति बनिरहेको बताईएको छ । 

त्यसपछि आलोपालोको चर्चा चलाईरहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वत पालो आउने अनुमान गरिएपनि त्यसो हुने छैन । पूर्व एमाले पक्ष ओलीपछि प्रधानमन्त्री बन्ने पालो प्रचण्डको हातमा पर्न दिने पक्षमा छैन । बरु पूर्व एमालेभित्रबाट जो कोही भएपनि सहमति जनाउने तर प्रचण्डलाई अहिले नै कार्यकारी प्रमुखको जिम्मेवारी नदिने त्यो पक्षको अडान रहेको बताईएको छ । यसो हुँदा वरिष्ठ नेताहरुमध्येका बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोेनित गरेर उपप्रधानमन्त्री नियुक्त गर्ने र कार्यबाहक प्रधानमन्त्रीको भूमिका दिने सम्भावना प्रवल रहेको बुझिन्छ । तर यो काम उपनिर्वाचन अघि गरिने छैन ।

सल्लाहकारको पजनी

प्रधानमन्त्रीका सल्लाहकारहरुको पजनीको चर्चाले नेकपाभित्र निकै ठूलो हलचल ल्याएको बुझिएको छ । प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल,परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार कुन्दन अर्यालको ‘परफरमेन्स’ बाट प्रधानमन्त्री ओली सन्तुष्ट हुननसकेको कारण उनीहरु सहित सबै तहका सल्लाहकारलाई विदा दिने निर्णय भएको छ । ओलीले यी सबैलाई घर बस्न सूचित गरिसकेका छन् । चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणको सेरोफेरोमा कुनैपनि सल्लाहकारको भूमिका सन्तोषजनक नरहेको निष्कर्षमा पुगेका ओेलीले सबैलाई पजनी गरेर नयाँ अनुहारलाई अवसर दिने तयारी गरेको बुझिएको छ । यो मन्त्रीपरिषद्बाट विदा दिन तयार पारिएका कतिपय मन्त्रीहरुमाथि नैतिक दवाव पनि भएको बताईएको छ ।

दुइ अध्यक्षको द्वन्द

सत्तारुढ दलभित्रको सत्ता संघर्षले दुइ अध्यक्ष ओली र दाहालवीच नै द्वन्दको परिस्थिति बनेको देखिएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महराको घटनापछि नै ओली र दाहालवीच मनमुटाव देखिएको हो तर महरालाई कुनै पनि राजनीतिक जलले चोख्याउन नसकिने देखिएपछि दाहाल मौन बसेका थिए । तर रिक्त सभामुख पदमा कसलाई जिम्मेवारी दिने भनेर अहिले फेरि द्वन्द बढेको बताईएको छ । ओलीले आफ्ना विश्वासपात्र तथा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रतिनिधि सभाको सभामुख बनाउने भनेर निकटस्थहरुसँग परामर्श गरिरहेका छन् । यो कुराको सुँइको पाएपछि दाहालले सभामुखमा पूर्व माओवादीकै नेतालाई अवसर दिनुपर्ने भनी अग्नी सापकोटाको नाम अघि सारेको बुझिएको छ । यस बिषयमा पनि उपनिर्वाचनपछि नै निर्णय गर्ने भनी अहिलेलाई थाँती राखिएको बताईएको छ ।

-सरल पत्रिका