उपेन्द्रले किन खाए ‘नरुचेको गाँस’ ?

सिंहदरबारमा सोमबार उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव मन्त्रालयमा पदभार ग्रहणपछि पत्रकारसँग कुराकानी गर्दै । तस्वीर : रोशन सापकोटा/रासस

काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले लामो छलफल र परामर्शपछि सोमबार नयाँ जिम्मेवारी औपचारिक रुपमा स्वीकारेका छन् । उनी नयाँदिल्ली प्रवासकालमा छँदा सम्हालिरहेको मन्त्रालयबाट सुँइकोसम्म पनि नपाई खोसुवामा परेका थिए । यसअघि आकर्षक बजेट भएको स्वास्थ्य मन्त्रालय हेर्ने गरी यादव उपप्रधानमन्त्री थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा अरु विवादित र लोकप्रिय मानिएका मन्त्री हटाउँदा यादवलाई भने मन्त्रालय सरुवा गरिदिएका थिए । आफूलाई पूर्व सूचनासम्म पनि नदिई पजनीको शैलीमा सरुवा गरिएको सूचना पाएपछि उपप्रधानमन्त्री यादव स्तव्ध भएका थिए ।

स्वदेश फर्के लगत्तै उनीमाथि सरकार छाड्न र नछाड्न भनी दुइतर्फि दवाव पनि परेको थियो । यहीबीचमा उनको पार्टीको बैठक पनि बस्यो तर सरकारबाट बाहिरिने निर्णय गर्न   सकेन । त्यसपछि मात्र यादव मलिन अनुहार लाएर सरुवा गरिएको मन्त्रालयमा सोमबार पुगे र जिम्मेवारी सम्हाले ।

यता उपप्रधानमन्त्री यादव धम्कीको शिकार भएको बुझिएको छ । एक उच्च समाचार सूत्रले बताए अनुसार, सत्तारुढ दलको उच्च तहबाट यादवलाई सरकारबाट बाहिरिएमा कानूनी झमेलामा परिने चेतावनी दिईएको थियो । खासगरी रौतहटको चर्चित हिंसात्मक घटनासँग जोडेर उनलाई जिम्मेवार देखाउँदै कानूनी फन्दामा पर्ने सम्भावना रहेको भन्दै तर्साएर सरकारमा बसिरहन वाध्य पारिएको जानकार सूत्रले दावी गरेको छ ।

यस’bout प्रतिक्रिया लिन प्रयाश गर्दा उपप्रधानमन्त्री यादवसँग सम्पर्क हुन सकेन । उनको पद बहालीको समय भएकाले फोनमा सम्पर्क हुननसक्ने जानकारी दिईयो ।

सिंहदरबारमा सोमबार उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवलाई मन्त्रालयमा स्वागत गर्दै कर्मचारी । तस्वीर : रोशन सापकोटा, रासस

यादवको असन्तुष्टि

सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पद बहाली गर्दै उपप्रधानमन्त्री यादवले संविधान संशोधनको चर्चा गरेका थिए । उनले संविधान संशोधनका लागि भएको सहमति कार्यान्वयन गर्ने समय आएको बताएर प्रधानमन्त्रीसँग घुमाउरो शैलीमा आफ्नो असन्तुष्टि प्रकट गरेका छन् ।

यादवले सरकारमा जानुपूर्व भएको संविधान संशोधनको सहमति कार्यान्वयन गर्ने बेला आएको बताउँदै ‘संविधान संशोधन राजनीतिक बिषय हो, हामीले यसअघि नै सहमति गरिसकेका छौँ, अब कार्यान्वयन गर्ने बेला आएको छ’ भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धेरै मन्त्रालयको अनुभव होस् भन्ने उद्देश्यले कानून मन्त्रालयमा पठाएको हुनाले काम गरेर देखाउने बेला आएको पनि यादवले सुनाए ।

उनले व्यंगपूर्ण शैलीमा सुनाए– ‘मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हो, हेरफेर गर्न सक्नुहुन्छ, मलाई अलि बढी नै माया गरेर पनि यो मन्त्रालय दिएको हुन सक्छ ।’

पद बहाली गर्दैगर्दा उनका कतिपय समर्थक ‘यादवलाई नरुचेको गाँस खान वाध्य पारिएको’ भन्दै टिप्पणी गरिरहेका थिए ।