साग महिला भलिबलमा नेपाललाई रजत पक्का

काठमाडौँ, १४ मड्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा नेपालले रजत पदक पक्का गरेको छ । सेमिफाइनलमा श्रीलङ्कालाई पराजित गरी नेपालले इतिहास रचेको हो । अब नेपाल उपाधिका लागि भारतसँग भिड्ने छ । 

            त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा भएको सेमिफाइनलमा नेपालले श्रीलङ्कालाई ३–० ले पराजित गरेको हो । नेपालले नेपाल सागमा पहिलो पटक रजत पदकको हकदार बनेको हो । नेपालले श्रीलङ्कालाई २५–१४, २५–१८ र २५–२१ अङ्कले हराएको हो । सागमा अहिलेसम्म महिला भलिबलमा कास्य पदक मात्र जितेको थियो ।  नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले नेपाली महिला टोलीले उल्लेख्य सफलता हासिल गरेको प्रतिक्रिया दिए । “अब हामी स्वर्ण पदक जित्ने गरी मैदानमा उत्रिन्छौँ”, उनले भने । 

            यस्तै आजै सम्पन्न अर्को सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० ले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । भारतले माल्दिभ्सलाई २५–१४, २५–६ र २५–१७ अङ्कले पराजित गरेको हो । (रासस)