चार सन्दिग्ध अपराधी “प्रहरी इन्काउन्टर’ मा मारिए

नयाँ दिल्ली, २० मङ्सिर : दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरू “प्रहरी इन्काउन्टर”मा मारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।


एक हप्तासम्म हिरासतमा रहेका ती सदिग्ध आरोपी व्यक्तिहरु शुक्रवार बिहान दक्षिणी भारतीय शहर हैदराबादमा भाग्न खोज्दा गोली हानिएको प्रहरीले जानकारी दिएको छ ।

ती सदिग्ध आरोपीहरु सुरक्षा अधिकारीबाट हतियार लिन खोज्दा सुरक्षाबलले गरेको कारबाहीमा उनीहरु मारिएका उप प्रहरी आयुक्त प्रकाश रेड्डीले एएफपीलाई बताउनु भएको छ ।

यी चार जनामाथि गत नोभेम्बरमा भारतको हैदराबाद शहर निवासी २७ वर्षीया महिला पशुचिकित्सकको बलात्कार गरी हत्या गरेको आरोप छ।
तेलङ्गना प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार शुक्रबार बिहान ३ बजेतिर उनीहरूको एउटा “भिडन्त” मा मृत्यु भएको हो । घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको छ ।

यी चारै जना संदिग्ध अपराधीलाई पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर प्रहरीले अनुसन्धान गर्न खोजेको हैदराबादका प्रहरी प्रमुखले बताउनु भएको छ ।

त्यहाँ उनीहरूले आफूहरुमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको र भिडन्त भएको प्रहरीले दाबी गरेको छ । प्रहरीका अनुसार यस झपडमा परी दुई प्रहरी अधिकारी घाइते भएका थिए ।

पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिहरुलाई कडा कारबाहीको माग गर्दै भारतभरी प्रदर्शन जारी रहेको
छ । भारतको संसद्मा बोल्दै सांसदहरुले ती व्यक्तिलाई सार्वजनिकस्थलमा उभ्याएर मार्नुपर्ने माग गरेका थिए । भारतीय सांसद जया बच्चनले संसद्मा बोल्दै सो धारणा राख्नुभएको थियो ।

सामूहिक बलात्कार र हत्याको विभिन्न राजनीतिक दलका कैयौँ सांसदले निन्दा गर्नुभएको छ । हराइरहेकी ती पशु चिकित्सकको जलेको शरीर गत साता फेला परेपछि भारतभरी विरोध प्रदर्शन भएका छन् ।

गत बुधवार साँझ स्थानीय समयानुसार ६ बजेतिर २७ वर्षीया ती महिला आफ्नो स्कूटरमा घरबाट निस्किएकी थिइन् ।

केही समयपछि उनले आफ्नो स्कूटर पन्चट भएको र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको जानकारी बहिनीलाई फोनबाट दिएकी थिइन् ।

महिला विरुद्ध हिंसाका विभिन्न चर्चित घटनामा सार्वजनिकरूपमा चर्को आक्रोश देखिए पनि भारतमा बलात्कार तथा हिंसाका घटना रोकिएका छैनन् ।

सांसदले महिलाका निम्ति देश सुरक्षित बनाउन सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरेका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले यो घटना सम्पूर्ण देशका लागि लज्जास्पद भएको र यसबाट सबैको मन दुखेको बताउनुभएको छ । साथै यस घटनाको निन्दा गर्ने आफूसँग उचित शब्द नभएको पनि उहाँले बताउनु भएको छ ।

सन् २०१२ को डिसेम्बर महिनामा दिल्लीमा एक महिलाको बसभित्र भएको सामूहिक बलात्कार र यसपछिको हत्याको प्रयासको घटनापश्चात् ल्याइएका कडा कानुनले महिला विरुद्धका अपराधमा कम गराउने अपेक्षा गरिए भए पनि त्यसो हुन नसकेको उहाँको भनाइ छ । (रासस /एएफपी)