देउवाको पेल्ने रणनीतिले कांग्रेसमा तनाव बढ्दै
काठमाडौं । सभापति शेरबहादुर देउवाले बहुमतको हतियार तेर्स्याएर पार्टीभित्रको असहमत पक्षलाई पेलेर अघि बढ्न खोजेपछि कार्यसमिति बैठक तनावमा बदलिएको छ ।
निर्धारित समयमा पार्टीको महाधिवेशन गर्न आनाकानी गर्दै देउवाले आफ्नो कार्यकालको म्याद थप्ने र निस्क्रिय जस्तै रहेका भ्रातृ संगठनको नेतृत्वमा पनि आफ्ना समर्थकलाई मनोनित गर्ने प्रयाश गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठक नै वहिष्कार गर्नेसम्मको विरोधमा उत्रिएको छ । यो पक्षले महाधिवेशनको कार्यतालिकालाई पहिलो प्राथमिकतामा उठाउँदै भ्रातृ संगठनको नेतृत्व मनोनित नगर्न सभापतिसँग माग गर्दै आएको छ ।
तर देउवाले बहुमतको हतियार देखाउँदै आफ्नै पार्टीभित्रको ठूलो नेतृत्व पंक्तिलाई तर्साउन प्रयाश गरेपनि उनको जोड नचल्ने देखिएको छ । बैठक वहिष्कार गरेको पौडेल पक्षलाई मनाएर अघि बढ्न वाध्य भएका देउवाले वार्ता समूह नै गठन गरेर विवाद मिलाउन खोजेको देखाउन खोजेको बुझेपछि पौडेल पक्षले सोमबारको बैठक पनि वहिष्कार गर्यो । पार्टीभित्रको विपक्षलाई पेलेर अघि बढ्न असम्भव जस्तै देखेपछि देउवाले बुधबारसम्मका लागि बैठक स्थगित गरेका छन् । यही वीचको समयमा विवाद मिलाउने प्रयाश गरिने बताईएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा सम्वाददाताहरुसँग कुरा गर्दै अर्को बैठक पुस २ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको बताए । उनले पार्टीभित्र हुने विवादहरु स्वभाविक र लोकतान्त्रिक भएको भन्दै दुवै पक्षबीच छलफल गरी सहमति तथा प्रकृयामार्फत टुंगोमा पुर्याउने उद्देश्यले बैठक स्थगित गरिएको बताए । प्रवक्ता शर्माले भने ती विषयहरुमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच छलफल भइरहेको बताउँदै सर्वसम्मत तथा प्रकृयागत आधारमा अगाडि बढ्ने गरी बैठक सारिएको दावी गरे । दुई पक्षबीचको विवादका कारण बिहीबार देखि कांग्रेस कार्यसमिति बैठक पटक पटक स्थगित हुँदै आएको छ ।
कांग्रेसका विभागहरुको संख्या बढाई २८ बाट ४१ पुर्याउने र १४ औं महाधिवेशन पछि धकेल्ने गरी प्रस्तावहरु आएको भन्दै पौडेल पक्षले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै आएको हो ।सरलपत्रिका