भागबन्डाको राजनीतिमा अल्झियो कांग्रेस बैठक

काठमाडौं । सभापति शेरबहादुर देउवाले पार्टीभित्रका विपक्षीको मागलाई वेवास्ता गरेका कारण नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्न सकेन । सहमति खोज्ने भन्दै पुस ४ सम्मका लागि बैठक सरेको छ । सभापति देउवाले खासगरी आगामी महाधिवेशनको कार्यतालिका कार्यसमितिमा प्रस्तुत गर्न आनाकानी गरेको भन्दै नेता रामचन्द्र पौडेलले नेतृत्व गरिरहेको समूहले बैठक बहिष्कार गरिरहेको छ । यसमा नयाँ गुटको नेतृत्व गरिरहेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको पनि साथ रहेको छ । 

यसवीच संस्थापन र विपक्ष भनि चिनिएका यी दुइ समूहवीच सहमति खोज्न सबै तहमा प्रयाश भएपनि सहमतिको मिलन बिन्दू फेला पर्न नसकेपछि बुधबारको बैठक बस्नै सकेन । उनीहरुवीच सहमति हुन नसकेपछि   केन्द्रीय कार्यसमिति बैठक फेरि रोकिएको छ । 

कांग्रेस मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार,‘आन्तरिक विवाद नमिल्दा बैठक स्थगित भयो ।’ बैठक बुधबार दिउसो १ बजे बस्ने कार्यतालिका थियो ।    सभापति देउवा र नेता पौडेल पक्षका नेताहरुबीच बुधबार बिहानैदेखि वार्ता भएको थियो । तर देउवाका प्रतिनिधिले आफ्नो समूहलाई हेपेको महसुश गरेपछि पौडेल समूह बैठकमा उपस्थित हुन नमानेको एक नेताले सरल पत्रिकासँग बताए । ती नेताका अनुुसार,‘अझै पनि सहमतिको प्रयास भइरहेको छ । दुवै पक्षका नेतालाई सहमतिका लागि शुक्रबारसम्मको समय दिइएको   छ ।’

कांग्रेस कार्यसमिति बैठक गत २६ मंसिरमा सुरु भएको थियो । त्यस यता अहिलेसम्म चार पटक स्थगित भइसकेको छ ।

 महाधिवेशन टार्न खोज्ने सभापति देउवाको प्रयाश र महाधिवेशनको कार्यतालिका पहिलो सर्त मान्ने पौडेल समूहको खिचातानीले कांग्रेसको बैठक तन्किँदै गएको छ । देउवा कुनै किसिमले महाधिवेशन पर सार्न चाहन्छन्,त्यसका लागि उनले निस्क्रिय रहेका भ्रातृ संगठनहरुलाई नयाँ नेतृत्व दिने र अरु केही थप्ने एजेन्डा बैठकमा राख्न प्रयाश गरेका थिए । तर पौडेल समूह यो प्रस्ताव विरुध्द उभिएको छ ।  

भ्रातृ संगठनहरुमा यी दुइ समूहको भागबन्डा मिल्यो भनेमात्र कार्यसमिति बैठक अघि बढ्ने सम्भावना रहेको एक नेताले बताए ।सरल पत्रिका