उपेन्द्र यादवले सरकार छाड्ने


काठमाडौं, पुस ८ : उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। आज बिहान बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा यादव उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका छन्। सरकारमा समाजवादी पार्टीका दुई मन्त्री छन्।

आजै पत्रकार सम्मेलन गरि सरकार छाडेको घोषणा गर्न लागिएको समाजवादीका एक नेताले बताए। उनका अनुसार, संविधान संशोधन नहुने भएपछि सरकार छाड्न लागिएको हो।

उपप्रधान तथा कानुनमन्त्री यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव राखेका थिए। प्रधानमन्त्री ओलीले संविधान संशोधन प्रस्ताव अस्वीकार गरेका थिए। प्रधानमन्त्री ओलीले ‘स्टप’ भन्दै यादवलाई हप्काएका थिए।

त्यसकै प्रतिक्रिया स्वरुप आज समाजवादीको पदाधिकारी बैठक बसेको थियो। बैठकले संविधान संशोधन नहुनेभएपछि सरकारमा बस्नुको औचित्य नरहेको निष्कर्ष निकालेको जनाएको छ।

यस्तो छ यादवले मन्त्रिपरिषद्मा राखेको संविधान संशोधन प्रस्ताव

काठमाडौँ प्रेस