बुर्किना फासोमा ३५ जना सर्वसाधारण ८० जिहादी मारिए

बुर्किना फासो, ९ पुस : उत्तरी बुर्किना फासोमा मङ्गलबार बिहान भएको आतङ्ककारी आक्रमणमा परी कम्तीमा ३५ सर्वसाधारण मारिएका छन् ।
राष्ट्रपति रोच मार्क क्रिस्टीयन काबोरले दिनुभएको जानकारीअनुसार मङगलबार बिहानै जिहादीहरुको एउटा ठूलो समूहले आक्रमण गरेका थिए ।

आतङ्ककारी आक्रमणमा ठूलो सङ्ख्यामा सर्वसाधारण मारिएपछि यहाँ दुई दिन राष्ट्रिय शोकको घोषणा भएको छ । राष्ट्रपति उक्त घोषणा गर्नु भएको हो ।
देशको सौम प्रान्त अन्तर्गत पर्ने अर्बिन्द भन्ने ठाउँमा घटना भएको राष्ट्रपतिद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

राष्ट्रपति काबोरले सामाजिक सञ्जाल ट्वीटरमा सुरक्षाकर्मीहरुले आफ्नो विरता प्रस्तुत गरेको उल्लेख गर्नुभएको छ । मृत्यु भएका ३५ सर्वसाधारणमा अधिकांश महिला रहेका उहाँले बताउनुभयो ।
सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता रेमिस डान्डजीमौले मृत्यु भएका मध्ये ३१ जना महिला रहेको पुिष्ट गर्नुभयो ।

राष्ट्रपति काबोरले मृतकप्रति श्रद्धाञ्जली र मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै दुई दिन राष्ट्रिय शोकको घोषणा गर्नु भएको हो ।
घटनाका ’boutमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेबारी नलिएको समाचारमा जनाइएको छ । बुर्किना फासोमा यस्ता आक्रमणका घटना बारम्बार हुने गरेको पाइन्छ ।

त्यसैगरी अर्को घटनामा स्थानीय सुरक्षाकर्मीहरुसँग भएको झडपका क्रममा ८० जिहादीहरु मारिएका सेनाले जनाएको छ । घटनामा परी अरु २० जना जिहादी घाइते भएका छन् ।

सन् २०१५ देखि भएका विभिन्न लडाकू आक्रमणमा परी बुर्किना फासोमा अहिलेसम्म कम्तीमा ७ सय भन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २०० जना सुरक्षाकर्मी रहेका छन् ।

हिंसात्मक घटना भइरहेकाले हजारौ स्थानीय बासिन्दा विस्थापित भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।(रासस/सिन्ह्वा)