राष्ट्रियसभा निर्वाचनका लागि नेकपाको उम्मेदवार चयन

प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार बिहान बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । तस्वीर : प्रधानमन्त्रीको सचिवालय (रासस)

काठमाडौँ, १८ पुस : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न नेकपाको सचिवालय बैठकले निर्वाचनका लागि उम्मेदवार चयन गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचन आगामी माघ ९ गते हुँदैछ । उहाँका अनुसार प्रदेश नं १ मा महिलातर्फ इन्दु गौतम, दलितमा गोपी अक्षामी र अन्यमा देवेन्द्र दाहाललाई चयन गरेको छ । यसैगरी प्रदेश नं २ मा महिलामा तुल्सा दाहाल, दलितमा राधेश्याम पासवानलाई चयन गरेको छ ।

प्रदेश नं २ मा नेकपाले दुई स्थानका लागि राष्ट्रिय जनता पार्टी (राजपा) का सँग सहकार्य गर्ने सहमति गरेको छ । बैठकले प्रदेश नं ३ मा महिलामा गङ्गा बेल्वासे र अन्यमा बेदुराम भुसाल, गण्डकी प्रदेशमा अन्यमा नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने, प्रदेश नं ५ मा महिलामा विमला घिमिरे, अपाङ्गता÷अल्पसङ्ख्यकमा जगप्रसाद शर्मा, अन्यमा गोपाल भट्टलाई उम्मेदवार तय गरेको छ ।

यसैगरी कर्णाली प्रदेशमा अन्यतर्फ मायाप्रसाद शर्मा, महिलामा सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यतर्फ तारामान स्वाँर र महिलामा शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्त श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले सो निर्वाचनका लागि यही पुस २० गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्र्ने कार्यतालिकता तय गरेको छ । (रासस)