आजदेखि मौसममा सुधार

काठमाडौँ, २० पुस : पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजदेखि सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर हुँदै गएकाले आजदेखि देशभर मौसम सुधार हँुदै गएको मौसमविद् प्रतिभा मान्धरले बताउनुभयो । “पश्चिमी वायु कमजोर हुँदै गएकाले पानी पर्ने र हिमपात हुने क्रम रोकिँदै गएको हो । आजदेखि देशभरकै मौसममा क्रमिक सुधार आउनेछ,” मौसमविद् मानन्धरले भन्नुभयो ।
हाल देशको पहाडी भूभागलगायत उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । राति देशको उच्च पहाडी तथा पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
भोलि देशको उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । मङ्गलबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम खुले पनि बिहान र बेलुका चिसो नै रहिरहने हुनाले चिसोबाट जोगिन सबैमा आग्रह गरेको छ । (रासस)