जनयुद्धमा मारिएका पाँच हजारको जिम्मा लिन तयार छु : प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले १७ हजार मान्छे मारेको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन्।

बुधबार राजधानीको टुँडिखेलमा आयोजि माघीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि लाग्दै आएको १७ हजार नेपाली मारेरको आरोपको पहिलोपटक खण्डन गरेका हुन्।

‘मैले १७ हजार नेपाली मारेको भन्ने कुरा सत्य होइन’, उनले भने, ‘सत्य के हो भने, हिजोको महाराजाहरुले १२ हजार मारेका हुन्, त्यसको जिम्मा उनीहरु लिन्छन् भने बाँकी ५ हजारको जिम्मा म लिन तयार छु।’

उनले युद्धका क्रममा ५ हजारको ज्यान गएको भन्दै त्यसको जिम्मा आफू लिन तयार भएको बताएका हुन्। राज्यले मारेका निर्दोषको हिसाब नगरी सोलोडोलोमा सबैको जिम्मा आफूलाई लगाएको भन्दै उनले त्यसले न्याय नगर्ने बताए। ‘राज्यले मारेको हिसाब नहुने अनि राज्यले मारेको पनि मेरै टाउकोमा हालियो भने यो न्याय हुँदैन।’

अध्यक्ष प्रचण्डले थारु लगायत सबै समुदायका मानिसमाथि लगाइएको झुटा मुद्दा खारेज हुनुपर्छ भन्ने अभियानमा आफू रहेको बताए। उनले टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई छुटाउन आफू लागिपरेको र केही समयभित्रै उनलाई छुटाएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरे।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले चौधरी फरार रहेका बेला भारतमा प्रधानमन्त्रीको हैसियतमै पुगेर भेटेको खुलासा समेत गरे। चौधरी पक्राउ पक्राउ परेपछि डिल्लीबजार जेलमा पुगेर भेटेको समेत उनले स्मरण गराए।

प्रचण्डले सम्बोधन गर्दै गर्दा उनको विपक्षमा हुटिङ गरिरहेका थारु समूदायका मानिसलाई सम्बोधन गर्दै उनले चौधरीलाई सांसदको रुपमा सशपथ गराउन आफूले खेलेको भूपमिकालाई नबिर्सन समेत आग्रह गरे। ‘सभामुख, सरकार र पार्टीलाई भनेर कम्तिमा रेशमलाई सपथ गराउनुपर्छ र उनलाई माननीयको दर्जा दिलाउनुपर्छ भनेर भूमिका खेल्ने पनि म हुँ भन्ने नबिर्सनुहोला’, उनले भने।

उनले आफूले पहिचानको मुद्दालाई नछाडेको समेत बताए।नेपालखबर