गृहयुद्धमा बेपत्ता भएका २३ हजार ५०० मानिस को मृत्यु भएको घोषणा
कोलम्बो, ७ माघ : श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सन् २००९ मा समाप्त भएको श्रीलङ्काली गृहयुद्धको समयमा बेपत्ता भएका नागरिकको मृत्यु भएको बताउनु भएको छ ।
गृहयुद्धका क्रममा करिब २३ हजार ५०० मानिस बेपत्ता भएको अनुमान गरिएको छ । ती सबै मानिसको मृत्यु भइसकेको सरकारले पहिलो पटक औपचारिक रुपमा स्वीकार गरेको हो ।
राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसंघका एकजना प्रतिनिधिसँगको भेटका क्रममा उहाँले सो जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले श्रीलङ्कामा करिब २७ वर्षसम्म जारी गृहयुद्ध र त्यसको अन्त्यको समयमा ती नागरिक बेपत्ता भएको बताउनु भएको हो । श्रीलङ्काली गृहयुद्ध अन्त्यका लागि सञ्चालित सैनिक अभियानमा राष्ट्रपति गोटाबायाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
राष्ट्रसङ्घीय प्रतिनिधिको कार्यालयका अनुसार, हराइरहेका भनिएका ती नागरिकलाई मृत्युदर्ता प्रमाणपत्र दिने तयारी गर्न सकिने अनुमान पनि गरिएको छ ।
श्रीलङ्काका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगरसँग सोमबार भएको भेटका अवसरमा राष्ट्रपति राजापाक्षेले सो कुराको जानकारी गराउनुभएको श्रीलङ्काका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सो विज्ञप्तिका अनुसार राज्यले पहिलो पटक औपचारिक रुपमा ती व्यक्ति मारिएको भनी जानकारी गराएपछि अब उनीहरुलाई मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिने भएको हो ।
यस देशमा २७ वर्षसम्म जातीय पृथकतावादीहरु लिबरेसन टाइगर्स अफ तमिल इलमले जातीय र पृथक राज्यका लागि गृहयुद्ध नै चलाएको थियो । त्यो युद्धको अन्त्य सन् २००९ मा भएको थियो ।
उक्त गृहयुद्धको अन्त्यका नाममा तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा श्रीलङ्काली सेनाको ज्यादतीका कारण सन् २००९ मा उक्त विद्रोही समूहका हजारौँ लडाकू र सर्वसाधारण पनि मारिएको आरोेप छ ।
तर यहाँको उत्तर र पूर्वी भागमा बसोबास गर्ने सयौँ परिवारले बेपत्ताहरूको अवस्था सार्वजनिक हुनुपर्ने माग गरिरहेका छन् । उनीहरुले बेला बेलामा प्रदर्शन गर्दै आफ्ना परिवारका सदस्यको अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन् ।
सन् २००९ मा गृहयुद्धको अन्त्यको सो समयमा श्रीलङ्काली सेनासँग आत्मसमर्पण गरेका केही व्यक्ति सुरक्षा फौजको नियन्त्रणमा हुनसक्ने आशा गरेको बताएका थिए । तर यो पछिल्लो भनाईपछि सेनासमक्ष कोही पनि नरहेको भन्ने बुझिएको छ ।
श्रीलङ्काको सेनाले विद्रोही तमिल टाइगर्सलाई सन् २००९ को मे महिनामा हराएको थियो । त्यसपछि त्यहाँको २७ वर्ष लामो युद्ध समाप्त भएको घोषणा गरिएको थियो ।
त्यहाँको द्वन्द्वमा भने करिब एक लाख मानिस मारिएको बताइएको छ । बेपत्ता भएका भनिएका ती २३ हजार ५०० मा करिब पाँच हजार जना सरकारी सेना पनि परेको बताइन्छ । (रासस/एएफपी)