नेपाल–लग्जेम्बर्ग विदेशमन्त्रीस्तरीय वार्ता

परराष्ट्र मन्त्रालयमा बुधबार परराष्ट्रमन्त्री प्रदीपकुुमार ज्ञवाली र लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच भेटवार्ता । तस्वीर : चन्द्रकला क्षेत्री (रासस)

काठमाडौँ, १५ माघ : नेपाल र लग्जेम्बर्गबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता भएको छ ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलबीच परराष्ट्र मन्त्रालयमा जारी द्विपक्षीय वार्तामा आपसी हित र चासोका विविध विषयका साथै साझा चासोका क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयमा पनि विचारविमर्श भइरहेको बताइएको छ ।


परराष्ट्र मन्त्रालयमा बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नको द्विपक्षीय वार्तापछि सामूहिक तस्विरमा । विदेशमन्त्री जिन एसलवर्न हाल नेपालको औपचारिक भ्रमणमा हनुहुन्छ । तस्वीर : चन्द्रकला क्षेत्री(रासस)

परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नुभएको छ । आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार उहाँले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डल र नेपालको औपचारिक भ्रमणमा रहनुभएका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच परराष्ट्र मन्त्रालयमा जारी द्विपक्षीय वार्तामा सहभागी । तस्वीर : चन्द्रकला क्षेत्री(रासस)

वार्तामा युरोपेली सङ्घ तथा लग्जेम्बर्गका लागि नेपाली राजदूत लोकबहादुर थापा, नेपालका लागि लग्जेम्बर्गका राजदूत जिन क्लाउडी कुगनेरसहित दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्छ । लग्जेम्बर्गले नेपालको शिक्षा, स्वास्थ्य र वातावरण संरक्षण एवं विकासका लागि संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घमार्फत विकास सहायता उपलब्ध गराउँदै आएको छ । (रासस)