दोलखाको शैलुङमा आलु रोप्ने चटारो
शम्भु गौतम
दोलखा, माघ १७:दोलखा जिल्लाको शैलुङ गाउँपालिकामा यतिखेर आलु रोप्ने चटारो छ । कृषकहरुको सिङ्गो परिवार आलु रोप्ने काममा जुटेको छ ।
शैलुङ गाउँपालिका ३ का भक्तबहादुर श्रेष्ठको परिवार अहिले शैलुङको ढुङ्गेमा आलु रोप्ने काममा लागिपरेको छ । उनको यो वर्ष ५ रोपनी क्षेत्रमा आलु रोप्ने योजना छ । १२ सय केजी आलु रोप्दा करिब ५ हजार केजी आलु उत्पादन हुने उनको अपेक्षा छ । यसवापत उनले अढाइदेखि ३ लाख रुपैयाँसम्म कमाउँछन् । मौसमअनुसार उनी मौसमअनुसार काउली, बन्दा, गाजर पनि लगाउने गर्दछन् ।
भक्तबहादुर मात्रै हैन, शैलुङ गाउँपालिकाका ६ हजार घरधुरीमध्ये ५ हजार घरधुरीका कृषकहरु अहिले आलु रोप्ने कार्यमा व्यस्त छन् । तीमध्ये करिब २ हजार घरधुरीका कृषकहरुले व्यवसायिक रुपमा आलुको खेती गर्नेगरेको शैलुङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका गैरी, ताम्चेत, सासिम, मेहेले, ग्योइ, बुट्टे, ढुङ्गे, देउराली, चैचाप, चित्रे, भित्रे, झोर, मनगाउँ, सरनथली र कालापानी आलुको पकेट क्षेत्र हुन् । व्यवसायिक खेती गर्नेहरुले एक मौसममा ५ लाख रुपैयाँसम्मको आलु बिक्री गर्ने गरेका छन् ।
यो आर्थिक वर्षमा मात्रै शैलुङ गाउँपालिकामा करिब १० करोड रुपैयाँ बराबरको ३० हजार मेट्रिक टन आलु उत्पादन भएको पालिका कार्यालयले जानकारी दिएको छ । उत्पादित आलुमध्ये करिब साँढे ७ करोड रुपैयाँ बराबरको २१ सय मेट्रिक टन आलु काठमाडौँ निर्यात गरिएको र ९ सय मेट्रिक टन आलु स्थानीय रुपमै खपत भएको पनि पालिकाले जनाएको छ । पालिका आलु निर्यात बापत ६ लाख रुपैयाँ राजश्व समेत संकलन गरेको छ ।
शैलुङ गाउँपालिकाले पनि आलु खेती प्रवद्र्धनको लागि कृषकहरुलाई सहयोग गर्नेगरेको छ । यसका लागि पालिकाले मेहेले, चैचाप, लाम्चेआहाल, ढुङ्गे र थगममा गरी ५ ठाउँमा रष्टिक आलु भण्डार घर बनाएको छ । प्रत्येक रष्टिक आलु भण्डार घरको क्षमता १० मेट्रिक टन छ । यी रष्टिक भण्डारमा हाललाई आलु बीउ भण्डार गर्ने गरिएको छ ।
त्यसैगरी कृषि प्रवद्र्धनका लागि पालिकामा आलु, फलफूल तथा तरकारी चिस्यान केन्द्र बन्ने भएको छ । पाँच करोडको लागतमा तीन सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र बन्ने भएको छ । डिपीआर तयार भएर टेन्डरको तयारीमा रहेको निर्माण हुने चिस्यान केन्द्रको क्षमता ३ सय मेट्रिक टन रहेको छ । सो चिस्यान केन्द्रमा दुई सय मेट्रिक टन आलु, २५ मेट्रिक टन किवी, १५ मेट्रिक टन बन्दा–काउली र ६० मेट्रिक टन अन्य फलफूल तथा तरकारी भण्डार गर्न मिल्नेछ । संघीय कृषि मन्त्रालयबाट दुई करोड ५० लाख र बाँकी गाउँपालिका र स्थानीय कृषक समुहले शेयर लगानी गरी ५ करोड रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण हुनेछ ।
काठमाडौँको तरकारी बजारमा सबैको रोजाइमा पर्ने आलुमध्ये मुख्यतः यही शैलुङ गाउँपालिकाको हो । काठमाडौँका मानिसहरुले यहाँको आलुलाई शैलुङको आलुको नामले चिन्ने र किन्ने गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको मुडे बजारबाट बिक्री हुने भएकोले यहाँको आलु ‘मुडेको आलु’को नामले चिनिएको हो । लेकाली हावापानी तथा उर्वर माटोका कारण स्वादिष्ट र स्वास्थ्यवद्र्धक हुने भएकोले स्थानीय बजार र काठमाडौँमा यहाँको आलुको माग अत्यधिक रहेको छ ।