आइसीसी विश्वकप लिग दुई : ओमानसामु नेपालको २५० रनको लक्ष्य
काठमाडौँ, २६ माघ । आइसीसी विश्वकप क्रिकेट लिग दुईमा नेपालले ओमानसामु २५० रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको हो ।
नेपालले ५० ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा २४९ रन बनायो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको सुरुआत राम्रो रह्यो । कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले ४८ रनको साझेदारी गरे । अमेरिकासितको खेलमा तीन रनमै पभेलियन फकिएका सुवासले आज २२ रब बनाए । यस क्रममा उनले एक चौका हाने । ज्ञानेन्द्रले अर्धशतकीय पारी खेले । अमेरिकासितको खेलमा २१ रन मात्र बनाएका ज्ञानेन्द्रले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले ५६ रन बनाए । मल्लले ७६ बल खेल्दै एक छक्का तथा छ चौका समेत प्रहार गरे । पारश खड्काले ३४ बलमा ३८ रन बनाए । उनले एक छक्का र छ चौका हाने ।
यस्तै विनोद भण्डारीले पाँच चौकाको मद्दतमा ३५ रन बनाए । उनी रन आउट भए । शनिबार अमेरिकासितको खेलमा विश्व कीर्तिमान बनाएका कुशल मल्लले दुई छक्का र दुई चौका प्रहार गर्दै २८ रन बनाए । आरिफ शेखले २८ रनको योगदान दिए । यस्तै करन केसीले १० बनाए । सन्दिप लामिछानेले अविजित १० तथा आजको खेलमा डेब्यु गरेका कमलसिंह ऐरीले अविजित नौ रन बनाए । बलिङतर्फ ओमानका अकिव लियासले चार तथा मोहमद नदिमले तीन विकेट लिए । अहिले ओमान ब्याटिङ गरिरहेको छ ।