लागुऔषधसहित पक्राउ

भारतबाट नेपालतर्फ भित्र्याइँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

परीक्षण गर्ने क्रममा प्रहरी टोलीले उनका साथबाट २८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ एम्पुल लुपिजेसिक, ३० एम्पुल फेनारगन, ३१ एम्पुल डाइजेल्याब, २० एम्पुल नोफिन र छ थान सुई फेला पारेको छ । भारतबाट साइकलमा आइरहेका चौधरीमाथि शङ्का लागी परीक्षण गर्दा लागुऔषध बरामद भएपछि कारवाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोना पठाइएको अस्थायी प्रहरी पोष्ट खरचुहियाका प्रहरी सहायक निरीक्षक क्रन्तिराज पौडेलले बताउनुभयो ।

सरकारी कागज कीर्ते आरोपमा पक्राउ

सप्तरीमा सरकारी कागज कीर्ते गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । राजविराजस्थित मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मालाई सरकारी काज कीर्ते गरेको आरोपमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ बस्ने ७६ वर्षीय फुरन चौधरी थारुले विश्वकर्माविरुद्ध लिखित उजुरी दिएकाले पक्राउ गरिएको प्रनाउ भारतीले बताउनुभयो । जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको उहाँले बताउन्ुभयो ।