पृथ्वीबाट किन हराउँदै छ जुनकिरी?


राति टिलपिल गर्ने जुनकिरी संसारमै पाइने एकप्रकारको किरा हो । तर पछिल्लो बर्षहरुमा जुनकिरी हराउँदै गएको बैज्ञानिकहरूले जनाएका छन्। 

प्राकृतिक आवासको नाश, किटनाशक औषधिको प्रयोग र कृत्रिम प्रकाशले जुनकिरीका करिब दुई हजारमध्ये केहि प्रजाति लोप हुने जोखिमा छ। प्राकृतिक आवास नाशिनु नै धेरै वन्यजन्तुका प्रजातिको प्रमुख कारण भएको एक अध्ययनले देखाएको हो। 

टफ्ट्स युनिभर्सिटीका जीवविज्ञानका प्राध्यापक सारार लेविसले बताए अनुसार जीवनचक्र पूरा गर्न निश्चित वातावरणीय अवस्था आवश्यक हुने भएकाले केहि जुनकिरी अझ समस्यामा परेका छन्। बायोसाइन्स नामक जर्नलमा प्रकाशित जुनकिरी सम्वन्धी अध्ययनको उनले नै गरेकी हुन्।

उदाहरणका लागि मलेसियन जुनकिरीको प्रजननका लागि म्यानग्रोभ र त्यहाँ पाइने वनस्पति चाहिन्छ। तर मलेसियाको म्यानग्रोभ पाइने दलदलमा तेल उत्पादन गर्नलाई पाम अर्थात् ताडीको रूख र एक्वाकल्चरल फार्म लगाइएका छन्। 

अचम्म त के छ भने, राति बालिने कृत्रिम प्रकाश यी जीवका लागि दोश्रो खतरा भएको अनुसन्धाताले पत्ता लगाएका छन्। यस्ता कृत्रिम प्रकाश गएको शताब्दीदेखि तिव्र रूपमा फैलिएका छन्।

स्काइग्लो

सडकमा बालिने बत्ति र व्यावसायिक सङ्केत प्रत्यक्ष प्रकाश हुन्। स्काइग्लो शहरी केन्द्रभन्दा पर पनि फैलिन्छ र पूर्णेको जूनभन्दा पनि उज्यालो हुनसक्छ। दुवै थरि कृत्रिम प्रकाश हुन्।

“प्रकाशको प्रदुषणले हाम्रो लगायत प्राकृतिक बायोरिदममा बाधा पुर्‍याउनुका साथै जुनकिरीको समागम प्रक्रिया पनि प्रभावित हुन्छ,” एभालोन ओवेन्सले बताए। ओवेन्स टफ्टस युनिभर्सिटीमा जीवविज्ञानमा विद्यावारिधी गर्दैछन्। उनी अध्ययन प्रतिवेदनका सहलेखक पनि हुन्।

धेरै जुनकिरी बायोलुमिनिसेन्समा भर पर्छन्। यो शरिरभित्र हुने रासायनिक प्रतिक्रिया हो जसले उनीहरूलाई बत्ति बाल्ने क्षमता दिन्छ। यसैको सहयोगले उनीहरू जोडी खोज्छन् र उनीहरूलाई आकर्षित गर्दछन्। अत्यधिक कृत्रिम प्रकाशले यसमा हस्तक्षेप गर्दछ। उर्जा प्रभावकारी र एकदमै उज्यालो एलइडिले सहयोग नगरेको ओवेन्स भन्छन्।

एक अनुमान अनुसार पृथ्वीको २३ प्रतिशतभन्दा धेरै जमिनमा रातिको समय कुनै न कुनै प्रकारको कृत्रिम उज्यालो हुन्छ। अध्ययनका लेखकहरू इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर फायरफ्लाइ स्पेसलिस्ट ग्रुपसँग आबद्ध छन्। जुनकिरीले सामना गर्नुपरेको जोखिमको अभिलेख तयार गर्न उनीहरूले फायरफ्लायर्स इन्टरनेसनल नेटवर्कका ३५० सदस्यको सर्वेक्षण गरेका छन्। जुनकिरीको संख्या कति हदसम्म खस्किदै छ भन्ने बुझ्न दीर्घकालीन तथ्याङ्क सहित थप अनुगमन अध्ययन आवश्यक भएको उनीहरूले बताए।

डेभ गोल्सन संयुक्त अधिराज्यको ससेक्स विश्वविद्यालयमा जीवविज्ञानका प्राध्यापक हुन्। प्राकृतिक आवासको नाश र किटनाशकको प्रयोग नै उनीहरूको संख्या घट्नुको प्रमुख कारण भएको गोल्सनले बताए।

“हो, प्रकाशको प्रदुषणले जुनकिरीलाई विशेष जोखिम हुन्छ। किराफट्याङ्ग्राको अन्य समूहभन्दा उनीहरू नै बढि जोखिममा छन्। त्यसैले यो पनि एउटा महत्त्वपूर्ण पाटो हो,” उनले भने। उनी अध्ययनमा संलग्न छैनन्।

वैज्ञानिकहरूले किराफट्याङ्ग्रा एउटा शान्त “एपोकलिप्स” पर्खिरहेको सङ्केत गर्छन्। गोल्सनले युके वाइल्डलाइफ ट्रस्ट्सका लागि हालै तयार गरेको एउटा प्रतिवेदन अनुसार किराफट्याङ्ग्राका ४१ प्रतिशत प्रजाति लोपोन्मुख अवस्थामा छन्। प्रतिवेदनले किटनाशको जोखिम प्रकाश पारेको छ। नियोनिकोटिनोइड्स जस्ता किटनाशक अमेरिकामा मकै र भटमासको दानामा प्रयोग गरिन्छ।

जुनकिरी पर्यटन

जापान, ताइवान र मलेसियाजस्ता देशमा जुनकिरीका केहि प्रजातिले प्रदर्शन गर्ने झिलिमिली मनोरञ्जनात्मक गतिविध मानिन्छ। अहिले यसको चर्चा र लोकप्रियता अझै बढ्दै छ। जुनकिरीको झिलिमिली रमाइलो हेर्न वार्षिक दुई लाखभन्दा धेरै आगन्तुक आउने गर्छन्। यसलाई अध्ययन प्रतिवेदनका लेखकले “फायरफ्लाइ टुरिजम” अर्थात् जुनकिरी पर्यटन नाम दिएका छन्। यसले पनि जुनकिरीको संख्या घटाएको छ।

थाइल्यान्डको म्यान्ग्रोभ क्षेत्रमा भएमा मोटरबोटको भीडभाऊले रूख र नदी किनार क्षेत्र नाश भइरहेको अनुसन्धाताले बताएका छन्। यसले त्यहाँ बस्ने जीवजन्तुको प्राकृतिक वासस्थान नष्ट भइरहेको छ। उत्तर क्यारोलाइना र मेक्सिको नानाकाम्पिलामा उड्न नसक्ने प्रजाति पर्यटकले कुल्चिरहेका छन्।

पर्यटकिय क्षेत्रको स्थापना र व्यवस्थापन गर्न निर्देशिका आवश्यक भएको उनीहरूले बताएका छन्। यसो गरे जुनकिरीलाई प्रकाश प्रदुषण, किटनाशक र कुल्चिनबाट जोगाउन सकिने उनीहरू बताउँछन्।

“यो ज्ञानलाई जमिनका व्यवस्थापक, नीतिनिर्माता र जुनकिरीका फ्यानसम्म पुर्‍याउनु हाम्रो लक्ष्य हो,” मलेसियन नेचर सोसाइटीका सोन्नी वोङले भने। उनी पनि अध्ययन प्रतिवेदनका सह लेखक हुन्। “जुनकिरीले अझै धेरै समय हाम्रो रातहरू उज्यालो बनाउन् भन्ने हाम्रो चाहना हो।”
सीएनएन/काठमाडौँ प्रेस