चीनबाट आएका आगन्तुकलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध जारी
सिड्नी, १ फागुन – कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ । पछिल्लो समय चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेपछि अस्ट्रेलियाले उक्त निर्णय गरेको जनाएको छ ।
प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियालीलाई कोरोना भाइरसको जोखिमबाट जोगाउन अरु केही हप्ता चीनको मुख्य भूभागबाट आउने आगन्तुकमाथि रोक लगाइएको जानकारी दिनुभयो ।
उहाँले यो प्रतिबन्ध भाइरसको परिस्थितिमा विचार गरेर हप्तैपिच्छे निर्णय लिइने बताउनुभयो ।
यस निर्णयले अष्ट्रेलियाका पर्यटन व्यवसायीलाई ठूलो चोट पुगेको छ । चिनियाँ पर्यटकको हिस्सा घटेपछि व्यवसायमा ठूलो नोक्सानी भएको छ । साथै नयाँ शैक्षिक वर्षका लागि अष्ट्रेलिया फर्कने आशा गरिरहेका हजारौं चिनियाँ विद्यार्थी अलपत्र परेका छन् ।
नयाँ कोरोना भाइरसबाट चीनमा मृत्यु हुने र सङ्क्रमित व्यक्तिको संख्या नाटकीय रुपमा बढेको छ । पछिल्लो विवरणमा चीनमा मात्र एक हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण देखिएको छ ।
प्रधानमन्त्री मोरिसनले भन्नुभयो, “हाम्रो पहिलो कर्तव्य हरेक अष्ट्रेलियालीलाई सुरक्षित राख्नु हो ।” – रासस