प्याराग्लाइडिङका विमल र तेक्वान्दोकी निमा सर्वाेत्कृष्ट खेलाडी

काठमाडौँ, ६ फागुन : प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङले सर्वाेत्कृष्ट खेलाडीको पुरस्कार जितेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए)ले आज यहाँ आयोजित कार्यक्रममा १४औँ संस्करणको उक्त पुरस्कार प्रदान गरेको हो ।

विमलले इन्डोनेसीयाको जकार्तामा सम्पन्न एसियाली खेलकूदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएका थिए । यस्तै महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित निमाले एसियाली खेलकूदमा तेक्वान्दोमा उत्कृष्ट खेल प्रदर्शन गरेकी थिइन् । दुवैले जनही रु एक लाख पुरस्कार प्राप्त गरे ।

यसैगरी वर्ष २०७५ को उदीयमान खेलाडीको पुरस्कार पुरुषतर्फ एथ्लेटिक्सका अजितकुमार यादव र महिलातर्फ भलिबलकी सरस्वती चौधरीले प्राप्त गरे । दुवैले जनही रु ५० हजार पुरस्कार हात पारे । गजराज आदर्श खेलाडी पुरस्कारबाट बक्सिङ प्रशिक्षक मदनकुमार गुरुङ सम्मानित भए । उनले रु रु ३५ हजार प्राप्त गरे । संघले २८ खेलका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा फुटबलका भरत खवास, पौडीका सुभम श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी, टेबल
टेनिसकी नविता श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, बक्सिङकी पुनम रावल, प्याराग्लाइडिङका विमल अधिकारी र भारत्तोलनकी सन्जु चौधरी रहेका छन् ।

यस्तै पुरस्कृत हुने अन्य खेलाडीमा लन टेनिसकी प्रेरणा कोइराला, कबड्डीकी मेनुकाकुमारी राजवंशी, फेन्सिङका ओमकार सिंह, स्क्वासका अमृत थापामगर, सेपाताक्रोका रोशन तामाङ, स्पोर्टस् क्लाइम्बिङका पेम्बा शेर्पा, पेन्कक सिलातका गोविन्द चौधरी, कुराशका उपेन्द्र थापा, रोलर स्पोर्टस्का मिलन शाह ठकुरी, बास्केटबलका मनिषराज उपाध्याय र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् ।

ब्याडमिन्टनका दिपेश धामी, ट्रायथलनका बसन्त थारु, करातेका विजय श्रेष्ठ, जुडोका इन्द्रबहादुर श्रेष्ठ, उसुकी जुनी राई, आर्चरीका तिलक पुन मगर, एथ्लेटिक्सका अजितकुमार यादव, गल्फका टंकबहादुर कार्की र कुस्तीका रमेश गौतमसमेत पुरस्कृत भए । उनीहरुले जनही रु १० हजार प्राप्त गरे ।

खेलकूद पत्रकार पुरस्कारबाट गोरखापत्रका राजेन्द्र चित्रकार पुरस्कृत भए । उनले रु २५ हजार प्राप्त गरे । स्पेशल अवार्डबाट द काठमाडौँ पोष्टका प्रज्ज्वल ओली पुरस्कृत भए । नेपालले १८औँ एसियाली खेलकूदमा सहभागी खेलमा गरेको प्रदर्शनलाई आधार मान्दै सम्बिन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडी घोषित गरिएको हो । एसियाली खेलकूदमा नेपालले २८ खेलमा भाग लिएको थियो । पहिलो पटक समावेश गरिएको पारा खेलकूदको पुरस्कार बोसिया खेलकी महिमा कोइरालाले प्राप्त गरिन् । उनीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष दिपक विष्टलगायतले पुरस्कार प्रदान गरेका थिए ।