खप्तड क्षेत्रमा हिमपात

डोटीको खप्तड क्षेत्रमा पर्ने झिग्रनामा पर्दै गरेको हिमपात । गएरातिदेखि मौसममा आएको परिर्वतनका कारण उक्त क्षेत्रमा शुक्रबार बिहानदेखि हिँउ पर्न शुरु भएको हो । तस्वीर : विमलबहादुर विष्ट (रासस)

डोटी, ९ फागुन : बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा आज बिहानदेखि हिमपात शुरु भएको छ । योसहित यहाँका पहाडी जिल्लामा छैटौँपटक हिमपात भएको हो ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै आज बिहानदेखि हिमपात शुरु भएको खप्तडमा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ । गत माघ २० गते परेको हिउँ पग्लिन नपाउँदै फेरि आज हिमपात भएपछि जनजीवन प्रभावित बनेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा आज बिहानदेखि फेरि हिमपात शुरु भएको बताइएको छ । खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेको छ । (रासस)