प्रधानमन्त्रीको जन्मदिन मनाउन आठराई गाउँपालिकामा सार्बजनिक बिदा

काठमाडौं, फागुन ११ : प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।
गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ । प्रधानमन्त्री ओली आइतबार आफ्नो ६९औँ जन्मदिन मनाउन जन्मघर आठराई जाँदै छन् ।
उनले छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन पनि दिएको छ ।
प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । – काठमाडौँ प्रेस