परिधि

-ध्रुव मधिकर्मी

 

उसलाई आफैसँग ठूलो गुनासो छ ।

ऊ चुप छ । आफैमा सीमित छ । ठूलो आकाब्क्षा पालेर पनि जीवनमा उसले त्यसका लागि
कुनै अनुचित प्रयत्न गरेन । यसैको फल आज ऊ भोगिरहेछ, विक्षिप्त भइरहेछ । उसका आँखा
अगाडि आफ्नै आकाब्क्षाका मृत अनुहारहरु लहरै झुन्डिरहेका छन् । स्वप्नको भित्तामा कोरेका
निर्जीव रेखाचित्रहरु कहिलेकाहीँ आगोका लप्काहरु भएर मुटु डढाउन आउँछन् । त्यतिखेर ऊ
आफैसँग कहालिँदै भाग्छ र कतै बेहोस भएर ढल्छ ।

 

अगाडि वितृष्णाको जालो छ । वरिपरि अभाव र अतृप्तिको अरुभूमि पल्टिएको छ । छाया दिन
नसक्ने नाब्गो रुखको ओतमा बसेर टन्टलापुर घाम खानु उसको जिन्दगीको यथार्थ तर भयावह
नियति हो । यो नियतिलाई जीवनपर्यन्त भोग्नु अनिवार्य छ ।

 

हुन त ऊ सहरमा छ । सहरका सम्पूर्ण सुविधाहरु , मोजमज्जाहरु मनोरञ्जक खेलहरु उसका
वरिपरि नै फैलिएका छन् । तर अछुतझैं पर बसेर ऊ ती सबमाथि दृष्टिपात गरिरहन्छ । उसलाई
लाग्छ –ऊ फेदसम्म नै पुग्न सकेको छैन कसरी उसले टुप्पोको अड्कल गर्नु ।

 

तँ त्यहाँ पुग्न चाहन्छस् ? भित्रबाट निस्केर कसैले ऊसँग सोध्यो । उसले

प्रश्नकर्ताको अनुहार छाम्यो – यो उसको विलोम प्रतिच्छवि हो ।

त्यसले पुनः प्रश्न गर्यो ।

चाहन्छु । तर…, उसको अनुहारमा केही निमेषका लागि देखिएको खुसी तर… पछि
झ¥यो ।

मसँग त्यहाँ पुग्ने बाटो छ ।, त्यसले भन्यो ।

कसरी ?

त्यसले उसलाई हातले समातेर हावामा उडाएर लग्यो । उसलाई वायुयानमा राखेर सहरको
रमाइलो जीवनको अपेक्षित खुसीको संसारमा माथिबाट अवलोकन गरायो । उसले मग्न एवं अचम्भित
भएर काल्पनिक स्पर्श गर्यो ।

वायुयान विस्तारै मृगतृष्णाको संसारमा ओर्लियो । त्यसले भुइँ छुनासाथ ऊ झसब्ग
भयो । उलले आफूलाई त्यहाँ होइन यहाँ देख्यो जहाँ ऊ थियो र छ । उही नाब्गो
रुख र मध्यान्हको घाम, उही शुष्क र रुखो जिन्दगीबीच उसले पुनः त्यो संसारलाई हेर्यो ।
उसले आफूलाई नराम्रोसँग ठगिएको अनुभव गर्यो । मानौं त्यो संसारमा पुग्नु
नागपाशको एउटा खेल हो  उसको लागि ।

उसको सानो जागिर छ, यसदेखि पनि ऊ असन्तुष्ट छ । जागिर एउटा बाध्यता भएको छ ।
कुनै महत्वपूर्ण पदमा उक्लन अझै सकेको छैन । समयको एक ढिको खिइसक्यो तर परिवर्तनको
कुनै सब्केत दृश्यपटलमा आउन सकेको छैन । बढुवाको प्रत्येक सूचनामा ऊ विश्वस्त बन्छ । तर
परिणाम सधैं अनपेक्षित, अविश्वस्त भएर आउँछ ।

बाँच्नु के हो ? प्रायः ऊ आफैसँग यो प्रश्न गर्छ । उसलाई थाहा छ, यसको
उत्तर दिनु सरल छै्न । एउटा जटिल प्रक्रिया नै जीवनको परिभाषा हो । ऊ आफैसँग प्रश्न
गर्छ । तर प्रत्युत्तरको प्रक्रियामा लाग्दैन । उसका लागि बाँच्नु कुनै ठूलो उपलब्धि होइन
। कसैगरी आफूलाई बाँचुन्जेल जीवित राख्नु हो । उसको कमजोर डोरीसँग केही जीवनहरु
गाँसिएका छन् । यही कारणले उसलाई जीवनको बाटोमा विचलित पार्न खोजिरहन्छ । बाँच्नुको
अर्थ फगत बाँच्नुभित्र सीमित हुन्छ ।

ऊ परिवर्तनको काँचुली किन फेर्दैन । आफ्नो सुख, स्वार्थका लागि ऊ किन

चिप्लोघसुवा हुन सक्तैन । आफ्नो प्रभुत्व निरीह, हीन र कथित आदर्शको दास भएर ऊ
कतिन्जेल जिन्दगीसँग समयप्रतिकूल सम्झौतामा बाँच्नुको स्वाब काँधमा बोकिरहनेछ । कति
जाती हुन्थ्यो , ऊ बदमास, गुन्डो वा तस्कर भइदिएको भए ।

उसले वरिपरि हेर्यो – कहीँ केही छैन आफ्नो भन्नलायक । अफिस छुटेपछि सरासर घर
जानपर्ने हो । तर घर पुगेर मात्र के गर्ने ? तैपनि ऊ लप्र्याकलप्र्याक  हिंड्न थाल्यो
मानौ आफूलाई बलजफ्ती घिसारिरहेजस्तो, तर त्यसो होइन, उसको हिँडाइ नै यस्तो
भइसक्यो । अलि फुर्तीसाथ हिँड्नै आउँदैन उसलाई, कसका लागि फुर्ती गरेर हिँड्ने ?
अब समयको कुनै अर्थ रहेन ।

 

समय उसका लागि एउटा जड्वस्तु भइसक्यो । निरर्थक प्रयास
झैं लाग्छ । समयका दृश्यहीन गतिहरु । समय कहिले पनि उसको शुभचिन्तक बनेर आएन, त्यो
सधैँ उसको विरोधमा खिलाफमा आएको छ ।

 

समयले सधैँ उसलाई पछाडि धकेलेको छ ।
हिंड्दाहिँड्दै उसले शहरबजारलाई सधैँझैं आज पनि नियाल्यो । मानिसहरु
निरन्तर ओहोरदोहोर गरिरहेका छन् । ’emका आँखामा के छ पढ्न त्यति मुस्किल छैन । उसका
आँखाहरु पनि निरन्तर ओहोरदोहोरमा संलग्न मानिसहरुका आँखाभन्दा बेग्ला छैनन् ।

त्यहाँ हेर ।, कसैले उसलाई भन्यो । उसले त्यहाँ अर्थात् त्यता हेर्यो र देख्यो
एउटा ठूलो छतले घर । उसले कल्पना गर्यो– सडकमै उभिएर । त्यस घरमा कुनै अभाव, असुविधा,
समस्या र त्यसको छायासम्म नहोला । सुखसयल, आराम, सुविस्ता, मोजमज्जा, हाँसो, रहर .. त्यो
घरको छानो बर्सातमा चुहिँदैन । घरका परिवारहरुलाई कोठाको अभाव पक्कै नहोला ।
उसले आफ्नो घर सम्झयो ।

सोच्यो उसले – त्यो ठूलो घर उसको भइदिए जीवनका सम्पूर्ण समस्याहरु लुप्त
हुनेछन् ।

ऊ त्यहाँ हेर ।, दुई पाइला हिँडेपछि पुनः उसलाई भनियो ।

फेरि उसले एउटा राम्रो घर देख्यो – पाँचतले ।

यो घर पनि उसलाई मन पर्यो  । यहाँ पनि कुनै अभाव, समस्या नहोला । चट्ट परेको घर
अघिल्लोभन्दा कुनै कमी देखिंदैन । उसले आफ्नो गरिबी र अभाव सम्झयो । स्वास्नी र
छोराछोरीको कचकच सम्झयो र सम्झयो आफ्ना कमजोरीहरु ।

उसलाई यस्तो एउटा घर चाहिन्छ ।

फेरि एउटा घर देख्यो – राम्रै तर अघिल्लोभन्दा एक तला सानो ।

उसले राम्रो सुविधायुक्त घरमा बसेर मानिसहरुले भोग्ने सुखसयल सडकमा उभिएर कल्पना
ग¥यो । कल्पनामा डुब्दा उसलाई आफू सडकमा होइन त्यहीँ एउटा भूमिकामा जीवन्त
भएझैं लाग्यो ।

फेरि उसलो देख्यो – अगिल्लोभन्दा सानो सुविधायुक्त घर ।
फेरि –
यो घर पनि उसलाई राम्रो लाग्यो । मन पर्यो  । आफ्नै भइदिए हुन्छ झैं
लाग्यो । घरहरु हेर्ने क्रममा उसलाई आफ्नो स्थितिको निरन्तर सम्झना भइरह्यो । यसर्थ
उसको कल्पनाको परिधि क्रमशः सब्कुचित हुँदै गयो ।
अन्तमा –
सहरको पुछारमा उसले नितान्त एक्लो र उपेक्षितझैं लाग्ने घर देख्यो ।
यो घर मन पर्यो  ?

उसले कुने जवाफ दिएन । यस घर’bout उसले कुनै कल्पनाको सहारा लिएन । यो सानो र
दुर्वल कायाझैं देखिने घर – पहिलो हेराइमै जसको आयुरेखालाई सर्रर पढ्न सकिन्छ, जसले
भोगिसकेको हिउँद, वसन्त अझै यसकै आवरणमा कोरिएको छ – उसको हो । अतः यसका लागि
कुनै स्वप्नको शिलान्यास गर्नु आवश्यक छैन ।

उसले निरपेक्ष भएर आफ्नो घर हेर्यो, त्यसपछि दिनभरिको थकाइ सम्झयो र
नियतिग्रस्त घरभित्र लुसुक्क पस्यो ।