मेरो नजरमा भारतको यातायात –देबेन्द्र दाहाल

 

देबेन्द्र दाहाल

 

एक महिना अघि मध्य सेप्टेम्बरमा दिल्लीबाट शुरु भएको मेरो यात्रा अक्टोबरको पहिलो साता दिल्लिमै फर्किएपछि टुंगियो ।

 

सेप्टेम्बर मध्य भएकोले गर्मी त्यती नहोला भन्ने लण्डनमा बसेर गरिएको मेरो अनुमान गलत नै साबित भयो । नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलको फराकिलो बाटोबाट शुरु भएको भारत यात्रा जसै सेन्ट्रल दिल्ली नजीकिदै थियो, त्यतिनै ट्राफिक ब्यबस्था पनि भाताभुङ हुँदै गैरहेको थियो ।

 

सडकमा सेता धर्का कोरेर बाहनलाई हिड्न बनाइएको लेनमा अटेसम्मका साना ठूला सबारी साधनहरु बिगुल फुक्दै तँछाड र मँछाड गर्दै गन्तब्यतर्फ लागिरहेका देखिन्थे । सेन्ट्रल दिल्लीमा देखिएको ट्राफिक अराजकताले काठमाण्डौंको ट्राफिक भद्रगोललाई पनि एक छिनका लागि बिर्साइ दियो ।

 

 

पेटी बिहिन अब्यवस्थित पुराना सडक

 

मलाई लागेको थियो, ‘साइनिंग इण्डिया’ को नाराले भारतको राजधानी नयाँ दिल्लीलाई तीब्र गतिमा आधुनिक बनाइरहेको छ । भारतीय पत्रपत्रिका र टिभीमा यस्तै कुरा देखे, सुने र पढेको थिएँ मैले ।

 

दिल्लीका फराकिला सडकमा यात्रुहरुका लागि हिडन पेटी बनाइएको भए पनि साना सडकहरु पेटी बिहिन रहेछन, जहाँ यत्रतत्र यात्रु बाहनहरु सडकलाइ अझ साँगुरो बनाउदै पार्किङ गरिएका थिए । जसले पैदल यात्रुहरुलाई पनि सडकमा ट्राफिक छिचोल्दै हिडन बाध्य पारिरहेका थिए ।

 

सडक पेटीहरु पनि धेरै जसो अपांग मैत्री देखिएनन् । पश्चिमी बिकसित मुलुकका सडक र ट्राफिक ब्यवस्थापनलाई हेरेर तुलना गर्ने हो भने दिल्लीले आफूलाई ती हाराहारिमा उभ्याउन नरेन्द्र मोदीले अझै ठूलो कसरत गर्नु पर्ने देखियो, स्वामि रामदेवको प्रवचन र आसनले मात्र त्यो बन्ने देखिएन ।

 

फोहोर ब्यबस्थापन, जेब्रा क्रसिङ, एलेक्ट्रोनिक ट्राफिक ब्यबस्थापन दिल्लीका लागि अझै ठूलो चुनौतिको बिषय रहेछ । जेब्रा क्रसिङ र गोलाकार सडक जक्सनमा यात्रु र सबारी चालकलाई सुरक्षित पार्न अझै ड्राइभर र यात्रुलाई सुशिक्षित गर्न अति नै जरुरी देखियो ।

 

साथै, ट्राफिक चापको बिस्तृत अध्ययन गरी ट्राफिक मोडेलिङको माध्यमबाट आबश्यक सडक सुधार गर्दै सडक अब्यवस्थालाई ब्यबस्थित बनाउदै लैजान धेरै बाँकी नै रहेछ जस्तो लाग्यो ।

 

 

फोहोर ब्यबस्थापन अर्को निकै ठूलै चुनौतिको बिषयको रुपमा छरपष्ट देखियो । यसलाई ठीक पार्न अहिले नै काम शुरु गरियो भने पनि धेरै वर्ष लाग्ने मलाई लाग्यो । यसलाई तीब्र गतिमा परिवर्तन गर्ने हो भने केटाकेटीहरुलाई प्राथमिक बिद्यालयबाटै गाउ र शहरको सरसफाइको महत्व र यस’bout जानकारी दिनको लागि आबश्यक सामाग्री तयार गरी स्कूलमै पठन पाठन गराउन र प्रयोग गर्न जरुरी छ कि भन्ने भान यात्रा अवधिभर मनमा भैरह्यो ।

 

सडक–बाटो छेउ फोहोर फाल्ने, शौचालयको रुपमा सडक र ड्रेनलाइ प्रयोग गर्ने भारतीय परम्परामा परिवर्तन नल्याइ शहर र सडक सफाइमा परिवर्तन ल्याउन महाभारत नै छ । यो असम्भव जस्तै छ ।

 

यसको लागि फोहोर फाल्ने उचित ठाउको ब्यवस्था र निश्चित दुरीमा सार्वजनिक शौचालयको ब्यवस्था गरिसकेपछि मात्र केही कठोर सजाय, जरिवाना र त्यसको पालना गर्ने ब्यबस्था गरियो भने त्यसले सघाउ पुर्याउन सक्ने हो कि जस्तो लाग्यो ।

 

ध्वनी प्रदूषणको मामिलामा काठमाण्डौंले दिल्लीलाइ जितेको भान हुन्छ (यद्यपि काठमाण्डौंमा हर्न बजाउन दुई महिनादेखि रोक लगाइएको छ र यसको पालना पनि भैरहेको सुनिरहेको छु ) । यसले अर्को संकेत पनि के दियो भने काठमान्डौंले चाह्यो भने ट्राफिकको उचित ब्यबस्थापनाको माम्लामा दिल्लीलाई उछिन्ने सम्भावना प्रवल छ ।

 

जसरी ध्वनी नियन्त्रण गरियो, त्यै अठोटसाथ लेन ब्यबस्थापन र सडकलाई जत्रतत्र ब्यक्तिगत पार्किङको रुपमा प्रयोग गरी सडक सागुरो बनाउने कुरोलाइ पनि बन्देज लाउदै जाने हो भने धेरै हद सम्म काठमाण्डौंको ट्राफिक दिल्ली भन्दा अझ सुचारु बनाउन सकिन्छ ।

 

 

अब द्रुत मार्ग’bout केही कुरा

 

बिगत २० बर्षमा भारतले द्रुत मार्ग बनाएर मुलुकका मुख्य–मुख्य महानगरहरुलाई जोडन सफल भएको देखिन्छ । यस्ता ठाउ–ठाउमा निर्मित रेस्ट एरियामा ब्यबस्थित खानपान, पेट्रोल पम्प (फ्युल स्टेसन), पार्किङ र हरियालीले द्रुतमार्गलाई अझ आकर्षक बनाइ दिएको छ ।

 

यस्मा एउटै कुरो मलाई खट्किएको के हो भने, मानिस द्रुतमार्गको छेउबाट हिड्ने, बिपरित दिशाबाट हार्ड सोल्डरमा मोटर साइकल हाक्ने गर्दा रहेछन् । त्यो पनि बिना हेल्मेट ! दिल्लीका सडकमा यस्तो प्रशस्त देख्न पाइने रहेछ । तार–बार तोडेर हल गोरु र साइकल यात्रीले जतासुकै सडक काटेर हिड्ने गरेको जस्ता मनपर्दी आदी इत्यादि यत्र, तत्र, सर्वत्र देख्न पाइने रहेछ ।

 

यी उलंघनहरु, सुरक्षाका दृष्टिले अतिनै गम्भीर प्रकृतिका हेलचक्राइ हुन । यद्यपि, हाम्रो परिबेसमा अहिले यो त्यति महत्वको बिषय नहुन पनि सक्छ तर पछि गएर यो कुरा द्रुतमार्गको टाउको दुखाइ र दुर्घटनाको कारकतत्व बन्ने पक्का छ ।

 

 

युरोपमा हार्ड सोल्डरमा गाडी बिग्रिएर पार्किङ गरी गाडी भित्रै बस्नुलाई पनि सुरक्षित मानिदैन । गाडीबाट बाहिर निस्केर सडकको पारिधि बाहिर गएर बस्न वा कुर्न ट्राफिकले लगाउछ ।

 

माथिका अब्यवस्था नियमित गर्न पैदल यात्रु र साइकललाई जथाभावी हिंड्न र गुडाउन रोक्नै पर्छ । बिपरित दिशामा हार्ड सोल्डरमा कुनै पनि गाडी चलाऊन बन्देज लगाउन जरुरी देखिन्छ ।

 

साइकल, बैल गाडा र खेतिपातीका सामान ओसार पसारका लागि अन्डर पास आबश्यक पर्ने ठाउँहरुको निर्धारण डिजायनमै समाबेश गरेर निर्माण गर्ने समय मै बनाउन ध्यान पुगेन कि ! न पुगेको भए निर्माण भइसकेको ठाउमा पनि आवश्यकता अनुरुप अन्डरपास बनाउन जरुरी देखिन्छ ।

 

मेरो यो यो लेखाई सर्ससर्ती हेराइ मात्र हो । यो मेरो सर्वसाधारण यात्रुको रुपमा प्राप्त अनुभव मात्र हो । हुनसक्छ मैले औंल्याएका उपरोक्त कुरा विषयविदका प्राथमिक टिप्पणी मात्र हुन् । मैले उठाएका कुराको ब्यवस्था हुँदाहुँदै पनि स्थानीय मानिसले आफ्नो सहजताको लागि ती गतिविधि गरेका हुन सक्छन्, टुंडिखेलबाट छेकारो काट्दा काट्दा गोरेटो नै बनेको पैदलमार्ग जस्तो !

 

आमयात्रुले आफूलाई सहज हुने भएकोले त्यस्तो गरेका हुन सक्छन् तर पनि सुरक्षालाई मध्यनजर गरी यी र यस्ता अबान्छित गातिबिधिलाई रोक्नै पर्छ । यसको अबिलम्ब नियन्त्रण गर्दा नै द्रुतमार्गको औचित्य जोगाउन सहयोग मिल्ने मेरो ठम्याइ छ ।

 

(दाहाल, राजमार्ग इन्जिनियर हुन् र उनी लामो समयदेखि लण्डनमा बसेर त्यही काम गर्छन् । दशैंको अवसर पारेर भारतका विभिन्न शहर घुमेका उनले भारतीय यातायात ब्यवस्थावारे सदृश्यका निम्ति यो लेख तयार गरेका हुन् ।)