भारी

      गधाप्रसाद निकै सहयोगी थियो । गाउँमा जसको पनि भारी निसङ्कोच बोकिदिन्थ्यो । यसको उसको भतेर कुनै प्रकारको भेदभाव गर्दैनथ्यो । गधाप्रसादले सबैको दुःख पीर मर्का अप्ठ्यारो बोकिदिन्थ्यो । कसैको आँसु पुछ्नमा पनि ऊ उतिकै सहयोगी थियो । त्यसैले गधाप्रसाद गुणी र लोकप्रिय थियो ।

      यही लोकप्रियताले गर्दा यसपटकको चुनावमा सबैले गधाप्रसादलाई उठाउने विचार गरे । गाउँले सबैको भारी बोकिदिने भएकाले चुनावको लागि उही उपयुक्त पनि लाग्यो । त्यसैले सबैले उसैलाई भोट दिएर जिताए । ताकि उसले बढीभन्दा बढी गाउँलेको भारी बोक्न सकोस् ।

      चुनाव जितेर शहर पसेदेखि गधाप्रसाद अझ बढी भारी बोक्नमै व्यस्त भयो । अब उसले गाउँलेको मात्र भारी बोकेर पुगेन । धेरैको भारी बोक्न परेको थियो । धेरै प्रकारको भारी बोक्न परेको थियो । पहिला त उसले गाउँमा नूनतेल र सुखदुःखको मात्र अलि अलि भारी बोके पुग्थ्यो । तर अब त उसले शिक्षा, स्वास्थ्य, रोजगार, नियमकानून, व्यवस्था सबै थोकको भारी बोक्नुपर्ने भयो ।   

      यही व्यस्तताले गर्दा गधाप्रसादले गाउँलेको भारी बोक्न त के गाउँतर्फ फर्केर पनि हेर्ने फुर्सद पाएन । एकप्रकारले गाउँसित उसको सम्पर्कविच्छेद जस्तै भयो । गाउँलेहरु गधाप्रसादले अझ बढी गाउँलेहरुको भारी बोकी देला भनेर आसामा बसे ।

      धेरै समयसम्म पनि गाउँलेको कुनै भारी बोक्न नआएकाले गाउँलेहरु उसलाई खोज्दै सहरमा आए । सहरमा गधाप्रसाद त झन ठूलठूला भारी बोक्नमै व्यस्त थिए । तर उनी गाउँलेको भरिया नभई सुकिलामुकिला र पराइहरुको भारी पो बोक्दै रहेछ ।