प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज गरिने

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओलीको आज त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिने भएको छ । मिर्गौला प्रत्यारोपणका लागि चिकित्सकीय तयारी पूरा भएको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जनाएका छन् । प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी छ ।

उनका अनुसार हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ र उनी विशेषज्ञको निरन्तर निगरानीमा छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ ।

डा ज्ञवालीको टोलीले बुधबार बिहान करिब ९ बजेबाट प्रत्यारोपण शुरु गरिने अस्पताल स्रोतले जनाएको छ । यसअघि २०६४ मा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकलाई पनि आवश्यक पर्ने सक्ने ठानी सो अस्पतालमा आमन्त्रण गरिएको छ ।