बेथिति हुँ साथी बेरीत हुँ

मलाई गालीले छुँदैन
तन दुख्दैन मन दुख्दैन
निन्दाले छुँदैन
मलाई लाज लाग्दैन
शोक मेरो नजिक पर्दैन

मलाई छिर्के मन पर्छ साथी
कटाक्ष मन पर्छ
हो साथी मलाई घोचौं घोचौं लाग्छ
म अघाइसकें तथापि अतृप्त छु
मलाई जता पल्टाए हुन्छ
साबर हुँ जति माडे हुन्छ
जति बंग्याऊ भाँचिन्न मलाई जति ठोके हुन्छ

मलाई प्रश्न नसोध म नै प्रश्न हुँ
नहँसाऊ म नै परिहास हुँ
मलाई खिसी नगर म नै उपहास हुँ
छुने यत्न नगर आफै अस्पृश्य हुँ
मलाई मार्ग नसोध दिग्भ्रान्त हुँ
करुणा नसोध दया नसोध
स्पन्दनहीन हुँ जड हुँ
ममा मित्रताको खोजी नगर साथी
म अमित्र हुँ
मलाई धिक्कारले छुँदैन थेच्चर हुँ
म टोकेर टोकिन्न स्वयं दंश हुँ
मलाई दच्काउने प्रयत्न गर्नेहरु सुन
म आफै दचक हुँ

मेरो सहयात्रामा साइत हेर्नु पर्दैन साथी
शूलयोग हुँ दिक्शूल हुँ
मलाई कसैको सुनाम नसुनाऊ
म स्वयं कुनाम हुँ
मेरो लागि निष्पक्षता छ बेकाम
किनकि म नै पनपक्ष हुँ
मलाई फलको आशा के देखाउँछौ दोस्त
बुझिराख म नै प्रतिफल हुँ
मलाई थिति नपढ़ाऊ रीति नेदेखाऊ
म नै बेथिति हुँ साथी बेरीत हुँ