शरीरका आन्तरिक अंग जोगाउने सजिला उपाय


शरीरका आन्तरिक अंगहरु सहि रुपमा संचालनको लागि ती अंगहरु स्वस्थ्य रहनु जरुरी छ । तैपनि हामीले कतिपय स–साना बिषयमा ध्यान नपुर्याउनाले यस्ता महत्वपूर्ण अंगहरुलाई गम्भीर क्षति पुग्ने गरेको छ । 

यस्तोमा शरीरका ती महत्वपूर्ण अंगलाई हाम्रो गलत प्रवृत्तिबाट कसरी जोगाउने भन्ने बिषयमा थोरै मात्र ध्यान दिनसके स्वस्थ्य जीवन बाँच्न मद्दत  पुग्छ । 

मुटु जोगाउन नून कम खाने

एक अध्ययन अनुसार दैनिक १३.७ ग्राम वा बढि नून सेवन गर्ने व्यक्तिहरुमा हृदयघातको सम्भावना अधिक रहेको देखिएको छ । यसको विपरित दैनिक ६.८ ग्राममात्र नून सेवन गर्नेमा हृदयघातको सम्भावना अति न्यून देखिएको छ । 

यस्तोमा नूनको प्रयोगमा ध्यान पुर्याउन सक्दा मात्र पनि मुटु जोगिने सम्भावना बढेर जान्छ । 

कलेजो जोगाउन चिल्लो कम खाने

हाम्रो दैनिक खानामा चिल्लोको मात्र बढ्दै जाँदा यसले सबैभन्दा पहिला कलेजोलाई असर गर्ने गरेको छ । विशेषगरी तारेको खाना, काँचो घ्यू जस्ता चिल्लो पदार्थ खाँदा शरीरमा बोसोको मात्रा बढ्दै पुरै कलेजोलाई बोसोले बेर्ने र क्षति पुर्याउने खतरा हुन्छ । 

सोही कारण पनि हामीले खानामा अत्यधिक चिल्लोको प्रयोग नगर्नु नै बुध्दिमानी हुनेछ । 

पेटको लागि तातो खाने

सामान्यतया चिसो खाना पच्न कठिन हुँदा यसले पेटलाई अनावश्यक विकारको लागि स्थान दिने गर्दछ । यसको विपरित मनतातो खानेकुरा सहजरुपमा पाचन प्रणालीमा सरिक  हुन्छ । 

चिसो खानेकुरालाई पाचन प्रणालीमा ल्याई टुक्राएर त्यसबाट शक्ति उत्सर्जन गर्ने कार्य पेटको लागि कठिन हुने भएकोले पनि मनतातो खानाको प्रयोग गर्दा उपयुक्त हुन्छ । 

प्यान्क्रियाज जोगाउन ठिक्क खाने

खाना स्वादिलो लाग्दा बढि खाने प्रवृत्ति स्वास्थ्यको लागि अनुकूल हुँदैन । नियमित भन्दा बढि खानासाथ प्यान्क्रियाजको काम बढ्दछ । यसको फलस्वरुप यसले इन्सुलीनको उत्पादन बढाउँछ । 

प्यान्क्रियाजले शरीरमा सुगर लेभल नियमित नहुँदासम्म इन्सुलीनको उत्पादन नियमित गर्दछ, जुन कार्यले अन्ततः प्यान्क्रियाजलाई कमजोर बनाउने कार्य गर्दछ । 

सोही कारण पनि स्वाद भन्दा पनि खानाको मात्रा सधैं एकै किसिमको बनाउँदा प्यान्क्रियाजलाई क्षति हुनबाट जोगाउन सकिन्छ । 

किड्नी जोगाउन पानीको सहि प्रयोग

पानी प्रशस्त पिउनु स्वास्थ्यको लागि राम्रो भन्ने सबैले थाहा पाएपनि कुन समय पानी उपयोग गर्दा यसले फाइदा गर्छ भन्नेमा पनि ध्यान पु¥याउनु जरुरी छ । 

विशेषगरी बिहान र दिउँसो सेवन गरिएको पानीले किड्नीलाई स्वस्थ्य राख्न मद्दत पुग्छ भने राती सेवन गरिने अधिक पानीले किड्नीलाई प्रतिकूल असर गर्छ । सोही कारण पनि राती कम पानीको सेवन गर्नुपर्छ र सुत्नुअघि पिसाब फेरेर मात्र सुत्नु पर्छ । 

अन्यथा पिसाबमा रहेको फोहोरको कण किड्नीमा जमेर ढुंगा बन्ने सम्भावना अधिक रहन्छ । 

सन्तुलित दिमागका लागि पर्याप्त निद्रा

दैनिक कामकाजले शरीरमात्र होइन दिमाग पनि थाकेको हुन्छ । सोही कारण पनि एउटा स्वस्थ्य शरीरलाई दैनिक ८ घण्टाको निद्रा आवश्यक  हुन्छ । 

८ घण्टा भन्दा बढि सुत्दा शरीर अल्छी हुने र यसले अन्य रोगलाई निम्त्याउने खतरा बढ्छ भने त्यो भन्दा कम सुत्ने मानिसमा चिडचिढाहट हुने र अनिद्रा कै कारण दिमागी सन्तुलनमा बिस्तारै असर गर्ने सम्भावना रहन्छ । सोही कारण पनि पर्याप्त निद्रा पुर्याउनु उपयुक्त हुन्छ । 

वास्तवमा शरीरका हरेक अंगको सहि संचालनले मात्र मानिस स्वस्थ्य हुन सक्छ । सोही कारण पनि बाहिरी शरीरको मात्र होइन शरीरभित्र रहेका साना तर महत्वपूर्ण अंगलाई नकारात्मक असर पर्ने कार्यलाई बन्द गरी यी अंगलाई जोगाउँदा निरोगी शरीर र दीर्घजीवन पाउन सकिन्छ । सरलपत्रिका