सांसदको घर नै क्वारेन्टाइन

रसुवा, १४ चैत : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि क्वारेन्टाइन बनाउन रसुवाका सांसदले आफ्नो निजीघर प्रदान गर्नुभएको छ । रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्य मोहन आचार्यले रसुवाको लहरेपौवास्थित आफू बसोबास गर्ने धारा, बत्ती, शौचालय, परिसरसमेतको सुविधायुक्त चारकोठे पक्की घर प्रदान गर्नुभएको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिनुभयो ।

सांसद आचार्यले २१ शय्यायुक्त क्वारेन्टाइनका लागि आफ्नो घर निःशुल्क प्रदान गर्नुभएको हो । सो घरमा खाट र शय्यासमेत उपलब्ध छ । जनताको मतको सम्मान गर्दै विपद् व्यवस्थापनअन्तर्गत जनसेवाका लागि आफूले बसोबास गर्दैआएको घर स्वतस्फूर्त क्वारेन्टाइनका लागि प्रदान गरिएको सांसद आचार्यले बताउनुभयो । जिल्लाका अन्य नेताले पनि यस्तै सहयोग गर्ने विश्वास स्थानीय वरिष्ठ समाजसेवी चन्द्रशेखर लम्सालले व्यक्त गर्नुभयो ।–ज्ञानेन्द्र न्यौपाने (रासस)