कोरोनाको त्राससँगै, रगत अभाव
बाँके, १५ चैत : देशभर कोरोनाको त्राससँगै उत्पन्न परिस्थितिले बाँकेमा रगत अभाव भएको छ । विशेषगरी संस्थागत रुपमा रक्तदान गर्ने क्रम रोकिएपछि रगत अभाव भएको हो ।
संस्थागत रक्तदान नभएपछि नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जले रक्तदान गर्ने व्यक्ति ल्याएपछि मात्र रगत दिने गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँले आकस्मिक सेवाका लागि थोरै रगत मौज्दात राखेको बताउँदै संस्थागतरुपमा रक्तदान नभएकाले सर्वसुलभ रुपमा रगत उपलब्ध गराउन नसकिएको हो भन्नुभयो ।
उहाँका अनुसार जति रगत आवश्यक छ त्यति रगत दिने दाता ल्याउनेलाई मात्र रगत दिन सकिने अवस्था छ । ‘‘धेरै पिन्ट रगत आवश्यक परे दिन सक्ने अवस्था हामीसँग छैन । संस्थागत रक्तदान गर्न हामी अपिल गर्दछौँ ।’’ उहाँले भन्नुभयो । कोरोना भाइरस र लकडाउनले रक्तदानमा कुनै असर नपर्ने बताउँदै उहाँले बेलैमा रक्तदान गर्न सबैसँग आग्रह गर्नुभयो । (रासस)