प्रकृतिसंग एक क्षण

प्रकृति सँधै जिङग्रिङ्ग परेकी, मयलले पोतिएकी, घिनलाग्दी देखिन्थिइ । उ सँधै निरास र तनावको जीवन जिउन बाध्य छ भन्ने संकेत यौवन नढल्किदै जिउडालमा बुढ्यौलिको लक्षण देखिनुले स्पस्ट गर्थियो । प्रकृतिको अनुहारामा मुस्कान बिरलै देख्न पाइन्थियो । मनमनै सोच्थिएँ पनि, प्रकृतिलाई नुहाइधुवाइ, कोरीबाटी गरी सफा लुगा लगाइदिएर नियाल्न पाए कस्ति देखिन्थिइ होली ? तर यी चाहनाहरु मनभित्रै गुम्सिएर रहन्थे ।
प्रकृति सँधै उस्तै त हो नि भनेर धैरै दिनदेखि उसलाई एक किसिमले वास्ता गर्न छाडिसकेको थिएँ ।
आजकल भने प्रकृतिलाई हेरेको हेरै गर्न मन लाग्छ । उ चिटिक्क, सफा र लेभलाग्दी देखिन थालेकी छ । उसलाई हेर्दा आँखा थाक्न छाडेकाछन । उनको शरीरमा एकटकले धेरै हेर्नु पनि पर्दैन, एकै छिन हेर्दा पनि किन हो चरम सुखको अनुभूति हुन्छ । उनको बदलिएको रुपरङ्ग र धपक्क बलेको यौवनको रहस्य जान्न प्रगाढ कौतुहल जागृत भएर आयो ।
मन थामिन नसकेपछि उनको समिप गएर सोध्ने हिम्मत जुटाएँ, “सधै निरास देखिने तिमी आजकल एकदमै प्रशन्न देखिन्छ्यौ । तिम्रो मुहारमा अप्रत्यासित चमक आएको छ । तिमी यसरी धपक्क बलेकी कहिल्यै देखिएकि थिइनौ । तिम्रो ओइलाएको सुन्दरताले आज फेरी जीवन्तता पाएको छ । तिम्रो सुन्दरता हिजो आज किन हो स्वर्गकी अप्सारलाई पनि मात गर्ने खालको छ । तिमीमा एक्कासि अचम्मित हुने गरी आएको परिवतर्न को रहस्य के हो ? भन त प्रकृति ।”
प्रकृतिले आँखाबाट भरर आँसु चुहाइन । लामो सास फेरिन । हर्षित मुद्रामा आँसु पुछ्दै भनिन, “हो, विगत केही दिनदेखि म एकदमै प्रशन्न छुँ । मैले आफ्ने जीवनकालमा यति विधि खुसी कहिल्यै भोग्न पाएकि थिइन । मेरो जन्म र मेरो जीवनको ध्येय नै अरुलाई खुसी पार्नका लागि हो । यस जगतमा सृष्टिलाई निरन्तरता दिनु मेरो प्रमुख कत्र्तब्य हो । तर म भने जीवन भर प्रताडित भएर रहे । धुलो, धुवाँ, फोहर, रसायन आदिको कारणले सदैव मैले उकुसमुकुसपूर्ण वातावरणमा जीवन विताउनु प¥यो । म एकदमै रोगी भै सकेकि थिएँ । मैले पर्याप्त स्याहारसुसार पटक्कै पाउन सकिन । मेरो मनको ब्यथा बुझिदिने कोही भएन । म रोगी भए पनि, कमजोर भए पनि, बेहोसी अवस्थामा भए पनि मेरो अस्ममिता लुट्ने क्रम रोकिएको थिएन ।” उनले फेरी लामो सास फेर्दै आफ्ना रसाएका आँखा पुछिन ।
मलिन स्वरमा उनले फेरी कुरा अगाडि बढाइन ः
“तिमीले सोधेको प्रश्नको उत्तर दिदा मेरो मन भक्कानिएको छ । मलाई कसैले पनि तेरो दुखः र पीडा के छ भनेर आजसम्म सोधेनन । नत मेरो सुन्दरतालाई निरन्तरता दिन के गर्नु पर्छ भन्ने कुरामा कसैले आजसम्म प्रश्न गरे । कम्तिमा तिमीले मेरो सुन्दरताको रहस्य के हो भनेर त सोध्यौ । यसका लागि तिमीलाई धन्यवाद ।” खुसी र दुख दुबै मिसिएको आखाँ मेरो आँखामा एकछिन जुदाइन ।
एक छिनको मौनता पछि उनले ओठमा मुस्कान छर्दैे भनिन ः
“आजकल ममाथि किन अनौठो ब्यवहार भइरहेछ म पनि बुझ्नै सकिरहेकि छैन । अ आँफै छक्क परेकी छुँ । मैले अनयास माया पाउन थालेकि छुँ । माया पाएपछि यो मन यसै तंग्रीने रहेछ । जीवनमा उत्साह उमङ्ग पलाउने रैछ । जीवन र जगत सबै सुन्दर लाग्ने रहेछ । अरु भन्दा पनि मैले विश्राम पाएकि छँु । मेरो शरिरमा लुछाचुडी गर्ने क्रम रोकिएको छ । मैले आफ्नो यौवनकालमा आनन्दको प्रत्यक्ष अनुभूति गर्न पाएकि थिइन । मैले ब्यर्थ सम्झिन थालेको जीवनमा फेरी आशाको पालुव पलाएको छ । यस जगतमा सृष्टिलाई निरन्तरता दिन सक्छु भन्ने आत्मबल ममा बढेर गएको छ ।”
केही बेरको मौनतापछि दुवै आँखाबाट एकएक थोपा आँसु खस्यो । रसाएको आँखा पुछ्दै थपिन ः
“अहिलेको जस्तै मेरो पीडा बुझेर मलाई सँधै माया गरिदिए म पनि माया दिइ रहन सक्ने थिएँ । म स्वस्थ्य र निरोगी रहन सक्दा अनन्तकालसम्म निरन्तरता दिइ रहन पाउने थिएँ यस जगतको सृष्टीलाई । मेरो प्रसन्नता र सुन्दरतमा रमाउन चाहन्छौ भने मलाई पनि उपयुक्त वातावरण चाहिन्छ । मेरो यौवनको भरपुर आनन्द लिन चाहन्छौ भने मलाई पनि प्रेम भरिएको आलिगंन चाहिन्छ । ममाथि विगत जस्तो ब्यवहार नहोस भन्ने मेरो ठूलो अपेक्षा पनि छ । अर्कोतिर अहिले म उपर भइरहेको सहानुभूति कहिलसम्म हो ? विगतलाई हेर्दा म ढुक्क हुन सक्ने अवस्थामा त छैन । तर पनि मेरो सुन्दरता र यौवनमा लालायित हुनेहरुलाई एउटा मात्र अनुरोध – मलाई जसरी उपयोग गर्छौ गर, तर तिमीले आफ्नो स्वस्थ्यको ख्याल गरिरहदा मेरो स्वास्थ्यको पनि ख्याल गरिदिए हुने ।”
प्रकृतिले धेरै शंका र थोरै विश्वासले मेरो आँखामा एकहोरो हेरिरहिन । मसंग नजिक हुन अलिकति अगाडि सरिन । उनको आँखाले मबाट उनको स्वास्थ्यको ख्याल गरिदिने बचनबद्धताको माग गरिरहेको झल्को दियो । म भने एक्लैले उनको माग पुरा गर्न सक्छु भन्ने कुरामा विश्वस्त हुन सकिन । विस्तारै उनको आँखाबाट आफ्नो आँखा हटाएँ र शिर झुकाएँ ।
तर सुन्दर प्रकृतिसंग लुटपुटिने धोको भने अझै मेटिएको छैन ।