अमेरिकामा कोरोनाभाइरसबाट छ हप्ताको शिशुको मृत्यु
कनेक्टीकट, २० चैत : संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना छ हप्ताको शिशुको मृत्यु भएको राज्यका गभर्नर नेड ल्यामोन्टले बताउनु भएको छ ।
गभर्नर ल्यामोन्टले कोरोनाभाइरसका कारण राज्यमा पहिलो पटक एक शिशुको मृत्यु भएको जानकारी दिनुभयो ।
बुधबार ट्वीट गर्दै गभर्नर ल्यामोन्टले भन्नुभयो, “यही कारण हामीले मानिसहरुलाई घरभित्रै बस्न र अरुसँग बाक्लो भेटघाट नगर्न आग्रह गरेका हौं । तपाइँको आफ्नै र अरु धेरैको जीवन वास्तवमै यसमा निर्भर छ ।”
स्वास्थ्य परीक्षण गर्दा यी बच्चामा कोविड–१९ को संक्रमण देखिएको पनि गभर्नरले बताउनुभयो । कोविड–१९ का कारण यति कम उमेरका बच्चाको मृत्यु भएको संभवत विश्वमै पहिलो घटना हो, गभर्नर ल्यामोन्टले भन्नुभयो ।
कनेक्टीकट राज्यको हार्टफोर्ड क्षेत्रका यी नवजात शिशुलाई गत साता अस्पताल ल्याइएको थियो । तर चिकित्सकहरुले उनलाई बचाउन सकेनन् ।
हार्टफोर्डका मेयर ल्युक ब्रोनिनले पनि नवजात शिशुको मृत्यु भएको पुष्टी गर्नु भएको छ ।
कनेक्टीकट राज्यमा बुधबारसम्ममा तीन हजार ५०० भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ८५ जनाको मृत्यु भएको छ । (रासस/एपी)