सम्पादकहरुले भने- काठमाडौं प्रेसको समाचार हटाउनु सरकारप्रतिको गम्भीर सन्देह, के थियो समाचार ?
काठमाडौं, चैत २० : दैनिक पत्रिका र अनलाइनका सम्पादकहरुले काठमाडौंप्रेसमा प्रकाशित समाचार अनधिकृत रुपमा हटाएकोमा भत्सना गरेका छन्।
बिहीबार दैनिक पत्रिका र अनलाइनका २१ जना सम्पादकहरुले संयुक्त विज्ञप्ति जारी गर्दै समाचार सामग्री हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकारको प्रत्यक्ष भूमिका आपत्तिजनक रहेको जनाएका हुन्। ‘काठमान्डु प्रेस डटकमले ‘चीनबाट झिकाइएका कमसल स्वास्थ्य सामग्रीको घोटाला प्रकरणमा सरकारका उच्च अधिकारीका आफन्त संलग्न’ भन्ने समाचार सम्प्रेषण गरेको थियो।
आफ्नो समाचार सिरान टेक्नोलोजिज् प्रालिको प्यारेन्ट कम्पनी एफवान सफ्टको तर्फबाट हटाइएको भनी उसले आज प्रेस वक्तव्य जारी गरेको छ,’ सम्पादकहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ ‘माथिको आदेश’ भन्दै वेब डेभलपर्सका तर्फबाट समाचार हटाउने यो आपत्तिजनक कारवाहीमा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अली सिरान टेक्नोलोजिज्को प्यारेन्ट कम्पनी एफवान सफ्टका एक साझेदार हुनुले सरकारलाई गम्भीर सन्देहमा पारेको छ।’
बुधबार काडमाडौं प्रेसको ‘चीनबाट झिकाइएका कमसल स्वास्थ्य सामग्रीको घोटाला प्रकरणमा सरकारका उच्च अधिकारीका आफन्त संलग्न’ शिर्षकको समाचार शिरान टेक्नोलोजिज् प्रालिले अनधिकृतरुपमा हटाएको थियो। सम्पादकहरुले अनलाइन समाचार साइट बन्द गराउन प्रेस काउन्सिलले गरेको सिफारिशले मिडियाप्रति सरकारको गलत तथा संविधानको मर्म विपरीत व्यवहार देखिएकोमा पनि गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएका छन्।
उनीहरुले काउन्सिलले अनलाइन साइटहरु बन्द गर्न सिफारिस गर्नु संविधानको भावना विपरीत हो, जसले प्रेसलाई जवाफदेही बनाउने नाममा सरकारको हस्तक्षेप निम्त्याउने जनाएका छन्। ‘अनलाइन मिडियाप्रति एकपछि अर्को यस्तो कारवाहीबाट प्रेस स्वतन्त्रता सीमित हुन जाने ध्यानाकर्षण गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ।
समाचारकालागि यहाँ क्लिक गर्नुस्
यस्तो छ सम्पादकहरुले जारी गरेको विज्ञप्ति
सम्पादकहरूको वक्तव्य
एक अनलाइनको समाचार सामग्री हटाउन प्रधानमन्त्रीका आईटी सल्लाहकारको प्रत्यक्ष भूमिका रहेको तथा केही अनलाइन समाचार साइट बन्द गराउन प्रेस काउन्सिलले गरेको सिफारिशले मिडियाप्रति सरकारको गलत तथा संविधानको मर्म विपरीत व्यवहार देखिएकाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
काठमान्डु प्रेस डटकमले ‘चीनबाट झिकाइएका कमसल स्वास्थ्य सामग्रीको घोटाला प्रकरणमा सरकारका उच्च अधिकारीका आफन्त संलग्न’ भन्ने समाचार सम्प्रेषण गरेको थियो ।
आफ्नो समाचार सिरान टेक्नोलोजिज् प्रालिको प्यारेन्ट कम्पनी एफवान सफ्टको तर्फबाट हटाइएको भनी उसले आज प्रेस वक्तव्य जारी गरेको छ ।
‘माथिको आदेश’ भन्दै वेब डेभलपर्सका तर्फबाट समाचार हटाउने यो आपत्तिजनक कारवाहीमा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अली सिरान टेक्नोलोजिज्को प्यारेन्ट कम्पनी एफवान सफ्टका एक साझेदार हुनुले सरकारलाई गम्भीर सन्देहमा पारेको छ ।
हामी संविधान विरोधी यो प्रकरणमा संलग्नहरू’bout शीघ्र छानबिन गरी दोषीलाई दण्डित गर्न माग गर्दछौँ ।
सरकारले अनलाइन समाचार नियमन गर्ने नाममा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणको पत्रका आधारमा केही साइट ब्लक गरेको विषयमा अनलाइन पत्रकार संघले हालै जारी गरेको प्रेस वक्तव्य पनि स्मरणीय छ ।
प्रेस काउन्सिलले अनलाइन साइटहरू बन्द गर्न सिफारिस गर्नु संविधानको भावना विपरीत हो, जसले प्रेसलाई जवाफदेही बनाउने नाममा सरकारको हस्तक्षेप निम्त्याउँछ ।
अनलाइन मिडियाप्रति एकपछि अर्को यस्तो कारवाहीबाट प्रेस स्वतन्त्रता सीमित हुन जाने ध्यानाकर्षण गराउँछौँ ।
२०७६ चैत २० हस्ताक्षरकर्ता सम्पादकहरू
अखिलेश उपाध्याय
अमित ढकाल
अरुण बराल
कसमस विश्वकर्मा
किरण नेपाल
कुन्द दीक्षित
कृष्णज्वाला देवकोटा
गुणराज लुइँटेल
नारायण वाग्ले
पूर्ण बस्नेत
प्रकाश रिमाल
प्रतीक प्रधान
प्रशान्त अर्याल
युवराज घिमिरे
बसन्त बस्नेत
राजेन्द्र दाहाल
शिव गाउँले
सुधीर शर्मा
सुबास घिमिरे
सञ्जीव सतगैंया
हरिबहादुर थापा