पर्दाहरु
ऊ निरन्तर यात्रा गरिरहेछ
किन्तु
गन्तव्यमा नपुग्दै पर्दा ठडिन्छ
जोडले हानेर पर्दा च्यात्छ ऊ
तर उसपार अर्को कालो पर्दा छ
ऊ फेरि एकतर्फी शालीन युद्ध गर्छ
पर्दाभित्रबाट मधुर आवाज आउँछ यदाकदा
अहो के होला ? आवाज सुकुमार छ
कसैले पर्दाभित्रबाट हात छिराएर देखाउँछ उताबाट
हात कमनीय छ सुन्दर छ
हात हल्लाएर इसाराले बोलाउँछ कोही उताबाट
अनि फेरि पर्दा खस्छ
तर
त्यहाँ एउटा डढेको ठुटो भेटिन्छ
फेरि पर्दाको प्वालबाट एउटा सुन्दर आँखा झिम्किन्छ ऊ झनै व्याकुल हुन्छ
पुन: पर्दा खस्छ
तर
घोच्ने सङ्गीन स्वागतमा छ
अनि पर्दाभित्र कसैले मोहक गीत गाउँछ
महनीय मनोहर सुन्दर स्वरहरु
त्यहीँ नजिकै ! तर कति टाढा !
उसले यात्रा गर्न चाहेको बाटो अर्कै हो
उसको गन्तव्य भिन्न हो
बाटो आफै लमतन्न पसारियो
ऊ यन्त्रवत यात्रा गरिरह्यो
ऊ हिड्नु परेन बाटोले हिंडाइरह्यो
उसका सामु सायद धेरै विकल्प थिए
तर
आँखा अगडि पस्रेको बाटोको
अन्तिम बिन्दु भेट्टाउन चाहन्छ ऊ
सायद त्यहीँ त्यो छ जो ऊ चाहन्थ्यो
तर पर्दाले सधै छेकिरहेछ
ऊ प्रत्यक्षमा सङ्गीत सुन्न आतुर छ
तर
पर्दा यसपार कर्कस छ
ऊ मङ्गलगान गाउन खोज्छ
तर
पर्दाले कान थुन्छ
ऊ मार्ग देखाउन चाहन्छ
तर
पर्दा आँखा चिम्लिन्छ
ऊ सत्य बोल्ने यत्न गर्दा !
अहो ! बहिरो बनिदिन्छ
बहिरो छ पर्दा सुन्दैन अबुझ छ बुझ्दैन अमङ्गल छ
कहिलेकाहीं उसलाई पर्दामाथि दया लाग्छ
पर्दाको बुद्धि देखेर खेद लाग्छ
पर्दा अन्धकारको राजा बन्दा
उसलाई चिन्ता लाग्छ
अहो !
पर्दालाई जन्म दिने
जननीमाथि टिठ लाग्छ ।
उसले लामो यात्रा गरिसक्यो
ऊ हिंडेका बाटाहरु जीर्ण भइसके
ऊ फर्कन सक्दैन
अगाडि अविरल पर्दाहरु छन
उसपार कुम्भीपाक नरक नै होस बरु
यात्रा पूरा गर्न चाहन्छ ऊ
बरु कण्टक उबडखाबड अजिङ्गर सर्प बिच्छी
बरु उसपार तातो कराहीमा पिल्सिन तयार छ ऊ
तर
पर्दारुपी पर्खाल जब्बर छ
पिङ खेलाइरहेछ उसलाई यसपार
मर्न गाह्रो छैन बरु
बाँच्न कठिन छ
उसले धेरै प्रयत्न गर्यो
पर्दाबाट भाग्न खोज्यो
उसले धेरै काला रातहरुलाई
झन अन्धकार पार्दै
पर्दाबाट उम्कने कोशिश गर्यो
लखतरान भयो ऊ !
अन्त्यमा उसले आफ्नो अन्त:करणलाई भन्छ
केही उपाय निकाल् हे मेरो चेतना ! थकित छु
चेतनाले जवाफ दिन्छ
यही तेरो वास्तविकता हो साथी !
अब कुनै प्रयत्न नगर् प्रवाहमा बग्दै जा
पर्खी बस् हे यात्री धैर्य गर् !
चिन्तन धेरै गरिस् मनन धेरै गरिस्
बलिन्द्र रोइस्
अब केही नगर् जे गर्नुछ पर्दालाई गर्न दे ।