प्युठानका किसान गहुँ भित्र्याउन व्यस्त

प्यूठानको झिमरुक फाँटमा पाकेको गहुँबाली । किसानलाई गहुँबाली भित्र्याउन चटारो परेको छ । तस्वीरः सागर रिजाल(रासस)

झिमरुक, २१ चैत : विश्वभर फैलिएको कोरोना संक्रमणका कारण देश लक डाउनमा रहेका बेला प्यूठानका किसान भने गहुँ बाली भित्र्याउन व्यस्त छन् ।

सरकारले सुझाएका बच्ने उपाय अवलम्बन गर्दै किसान खेतबारीमा व्यस्त छन् । भीडभाड नगरी पाकेको गहुँ काट्दै गरेको दृष्य प्यूठान उपत्यकामा देख्न सकिन्छ ।

यस वर्ष हिउँदे वर्षात्का कारण बाली राम्रो भएको किसान बताउँछन् । “सरकारले धेरै मानिस जम्मा नहुने भनेपछि एक्लाएक्लै भएर किसानले गहुँ काट्ने गरेका छन्”, प्यूठान नगरपालिका–४ का रेशम कार्कीले भन्नुभयो, “फाट्टफुट्ट सिँधुरे रोग देखिए पनि यस वर्ष उत्पादन बढ्नेछ ।” पाकिसकेको गहुँ खेतमै झर्ने अवस्था भएपछि किसानहरु गहुँ काट्न निस्केको वडा सदस्यसमेत रहनुभएका कार्कीले बताउनुभयो ।

जिल्लामा आठ हजार ६५० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिन्छ । गत वर्ष २४ हजार ५४९ मेट्रिकटन गहुँ उत्पादन भएकामा यस वर्ष बढ्ने कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ उमेश श्रेष्ठले बताउनुभयो । जिल्लामा भृकुटी, डब्लुके वार्से चार, गौतम, स्वर्गद्वाराीलगायत जातका गहुँ खेतीे गरिन्छ । (रासस)