लकडाउनमा कडाइ, एकबाट अर्को स्थानीय तहमा जान पनि रोक

काठमाडौं, चैत २२ : सरकारले कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवासमा शनिबार बसेका मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र उक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान पनि रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।
‘कोरोना भाइरस नियन्त्रणका लागि लकडाउनलाई प्रदेश र स्थानीय तहमै थप कडाइ गर्ने निर्णयमा पुगेको छौं,’ उनले भने,‘लकडाउनलाई पूर्णरुपमा पालना गराउन प्रदेश र स्थानीय तहले समन्वय गरेर अघि बढ्ने छन्।’
सरकारले चैत २५ गते रातिसम्मका लागि लकडाउनको समयसीमा तोकेको छ। पहिलो चरणमा चैत ११ गते विहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्मका लागि लकडाउन गरेपछि दोस्रो पटक थपेर चैत २५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय सरकारले गरेको थियो।
