राउटेका मुखमा मास्क
वीरेन्द्रनगर,२४चैत : जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले माक्स लगाउन थालेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका २ स्थित छिञ्चुखोलामा बस्दै आएको सो समुदायका सबैले मास्क लगाउन थालेका छन् ।
कोभिड–१९को संक्रमण बढिरहेकाले बच्नका लागि माक्स लगाउन थालिएको उनीहरुले बताएका छन् । गुराँस गाउँपालिकाले नियमित जाँच गर्नाका साथै भाइरसका ’boutमा जानकारी गराएपछि उनीहरु माक्स लगाउन तयार भए ।
राउटे समुदायको अहिले गाउँपालिकाले नियमित रुपमा स्वास्थ्यजाँच गर्दै आएको छ । उक्त समुदायमा १५१ सदस्य छन् । गाउँपालिकाले राउटे समुदायलाई मास्क प्रयोग गर्ने तरिका पनि सिकाएको थियो । गाउँपालिकाले राउटे समुदाय सबैको ज्वरो नाप्नाका साथै मास्क पनि वितरण गरेको छ ।
कोरोना संक्रमण रोक्नका लागि राउटे बस्ती पनि अहिले लकडाउनमा परेको छ । राउटे समुदायका नागरिकलाई बस्तीभन्दा बाहिर आउन बन्देज लगाइएको छ भने बाह्य व्यक्तिलाई पनि राउटे बस्तीमा प्रवेश दिइएको छैन ।
राउटे महामुखिया महिनबहादुर शाहीले कोरोना नलागोस् भनेर मास्क लगाइएको बताउनुभयो । सिंगो समुदाय एउटै ठाउँमा बस्ने भएकाले पनि आफूहरुलाई मास्क र अन्य सरसफाइ आवश्यक रहेको उहाँको भनाइ थियो । ‘सरकारको निर्देशनअनुसार अहिले हामी बस्तीभन्दा बाहिर गएका छैनाँैं’, उहाँले भन्नुभयो, ‘हामीलाई मास्क, साबुन र अन्य स्वास्थ्य सामग्री आवश्यक छ ।’
राउटे समुदायको स्वास्थ्य जाँच गर्नुभएका अनमी सुमन काफ्लेले कुनै पनि राउटेमा उच्च ज्वरो नदेखिएको जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष खेमराज वलीले राउटे समुदायलाई कोरोनाबाट जोगाउन नियमित स्वास्थ्यजाँच शुरु गरिएको बताउनुभयो । ‘आवश्यक परेमा जुनसुकै बेला पनि स्वास्थ्यकर्मी खटाउँछाँैं’, गाउँपालिका अध्यक्ष वलीले भन्नुभयो, ‘अन्य बेलामा भन्दा कोरोनाको संक्रमण फैलिएको अवस्थालाई ध्यानमा राखी समयसमयमा स्वास्थ्य जाँचमा ध्यान दिएका छाँै ।’
अहिलेसम्म राउटे बस्तीमा कुनै पनि रोगको संक्रमण देखिएको छैन भन्दै उहाँले लोपोन्मुख जाति बचाउन निगरानी बढाइएको बताउनुभयो । ‘अहिलेसम्म राउटे बस्तीमा कुनै किसिमको रोगको संक्रमण देखिएको छैन,’ उहाँले भन्नुभयो, ‘नियमित स्वास्थ्य जाँचका साथै भेरीगंगा नगरपालिकासँग समन्वय गरेर सरसफाइमा केन्द्रित हुन्छौंँ ।’ उहाँले बस्ती स्वच्छ राख्नका लागि शौचालय निर्माणका साथै अन्य सरसफाइका काम गरिने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले गाउँपालिका अहिले सचेतनाको कामलाई जोड दिएर अघि बढेको बताउनुभयो । ‘हाम्रो काम भनेको विपद्को बेलामा निरन्तर रुपमा सचेतना जगाउने हो’ बुढाले भन्नुभयो, ‘यस्तो अवस्थामा चेतना जगाउनु नै हाम्रो मुख्य भूमिका हो ।’
उहाँले राउटे समुदायलाई गाउँपालिकाले २०७५ असारमा परिचयपत्र वितरण गरिसकेपछि निरन्तर रुपमा हेरविचार गर्दै आएको बताउनुभयो । गाउँपालिकाले स्थापना गरेको विपद् कोषमा रु एक लाखभन्दा बढी जम्मा भएको छ जसमा गाउँपालिकाका अध्यक्ष वलीले रु २५ हजार जम्मा गर्नुभएको छ । गाउँपालिकाका सबै वडामा बाहिरबाट आउने व्यक्तिको तथ्यांक लिइनाका साथै स्वास्थ्यकर्मी खटाएर स्वास्थ्यजाँच गरिएको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताउनुभयो । बाहिरबाट आएका सबै क्वारेन्टाइनमा छन् ।
त्यसैगरी गाउँपालिकामा खाद्यान्न अभाव नहोस् भन्नाका लागि खाद्यान्न ढुवानी गरी सुपथ मूल्यमा सहकारीमार्फत खाद्यान्न वितरण गरिने बुढाले बताउनुभयो । सोका लागि गाउँपालिकाले रु १३ लाख ५० हजार छुट्याएको छ । ‘विश्वमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिकामा निरन्तर अनुगमन गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘यहाँका नागरिकको स्वास्थ्य अवस्थाका साथै खाद्यान्न उपलब्धताको अवस्थाका विषयमा निरन्तर जानकारी लिइरहेका छौँ ।
’
गाउँपालिकाका बिरामी अस्पताल वा क्वारेन्टाइनमा लैजानका लागि दुई एम्बुलेन्स तयारी अवस्थामा राखिएको गाउँपालिकाका उपाध्यक्ष दीपा बिसीले बताउनुभयो । ‘कोरोनाको संक्रमणको बेलामा केही समस्या भएमा अस्पताल लैजानका लागि दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ’ उपाध्यक्ष बिसीले भन्नुभयो, ‘जसले गर्दा उपचारको अभावमा कसैले पनि ज्यान गुमाउनु पर्ने छैन ।’ त्यसैगरी हेल्थ डेस्क सेन्टरबाट पनि नियमित रुपमा स्वास्थ्यजाँच भइरहेको उपाध्यक्ष बिसीले बताउनुभयो ।
गाउँपालिकामा भारतबाट आएका व्यक्तिको लगत संकलनसंँगै उनीहरुलाई खोज्दै स्वास्थ्यकर्मी घरघर पुगेर स्वास्थ्य जाँच गरेका छन् । गाउँपालिकाका ठाउँठाउँमा क्वारेन्टाइनसमेत व्यवस्थापन गरिएको छ । िजाँचका लागि आवश्यक सबै सामग्री उपलब्ध भएकाले कुनै जोखिम नभएको स्वास्थ्यकर्मी बताउँछन् । –लक्ष्मी भण्डारी(रासस)