चौधरी फाउन्डेसनद्वारा कोरोना परीक्षण सामाग्री हस्तान्तरण
काठमाडौँ, २६ चैत । चौधरी फाउन्डेसनले सरकारलाई कोरोना भाइरस परीक्षण सामग्री हस्तान्तरण गरेको छ । फाउन्डेसनले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमा ‘पीसीआर रिएजेन्ट’ एक हजार थान हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरिएका सामग्रीको मद्दतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको पहिचान गर्न सकिने फाउन्डेसनले जनाएको छ । हालै चीनबाट आयात गरिएका ती सामग्री सरकारलाई हस्तान्तण गरिएको हो । सो अवसरमा मन्त्री ढकालले नीजि क्षेत्रबाट निरन्तर सहयोग प्राप्त भइरहेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि नीजि क्षेत्रबाट सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो । फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले कोरोना भाइरस नियन्त्रणमा सरकारले थालेको प्रयासमा निरनतर साथ दिने बताउनुभयो । सीमित साधनस्रोत र पूर्वाधार भएको अवस्थामा सरकारसँग हातेमालो गर्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
सरकारसँग सहकार्य गरी देशभर स्वास्थ्य सामग्री उपलब्ध गराउने काममा फाउन्डेसन खटिँदै आएको चौधरीले बताउनुभयो । सरकारी तथा गैरसरकारी क्षेत्रबाट परीक्षण तथा सुरक्षा सामग्री माग उच्च देखिए पनि आफूहरूको पहिलो प्राथमिकता उपचार र परीक्षणमा सक्रिय चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा भएको उहाँको भनाइ थियो । यस उक्त फाउन्डेसनले सात प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा पीपीइ र उपचार सामग्री वितरण गरेको थियो ।