मृत्यु भएको ११ दिनपछि शव बुझाइयो

रुपन्देही, २६ चैत : बुटवलको कोरोना अस्पतालमा यही चैत १६ गते ज्यान गुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेको छ । आज भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवारजन सहमत भएका हुन् ।

उपचारमा लापरवाही भएको भन्दै परिवारले क्षतिपूर्ति माग गरी शव उठाउन मानेका थिएनन् । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालय, बुटवलमा क्रियाशील सामाजिक संस्था र मृतकका आफन्तबीच भएको छलफलमा शव उठाउने सहमति भएको हो ।

प्रदेश सरकारको पहलमा मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोरालाई कक्षा १२ सम्म निःशुल्क पढाउने सहमति भएको बैठकमा सहभागी संविधानसभाका सदस्य विनोद पहाडीले जानकारी दिनुभयो । मृतकका परिवारलाई सामाजिक सङ्घ संस्थाले रु आठ लाख राहत दिने निर्णयसमेत भएको छ ।

दुवईबाट यही चैत पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना हुनुभएको थियो । चैत १६ गते बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उहाँको ज्यान गएको थियो । उहाँको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । (रासस)