अरुण भ्याली पदयात्रा – चक्र कार्की
कुलुङ्गेले कुलो खन्यो,
थुलुङ्गेले थुन्यो !
सोताङ्गेले सोध्यो,
खालिङ्गेले खोल्यो !
साल्पा भन्ज्याङमा बास बसेका छौं । फेदीबाट भारी
बोकेर आएका कुलुङ्गेहरु यही गीत गाऊदै रमाइलो गरिरहेका थिए ।
सगरमाथा मोडिने यस भन्ज्याङमा बिदेशी पर्यटकको भन्दा भारी बोकेर आउनेको लर्को ठूलो थियो । हामीले चण्डीको भाकामा गीत गाउन भन्दा उनीहरुले आफ्नै पाखा पखेरामा गाउने शैली पस्केर मज्जा गरे ।
उनीहरुको खाने र सुत्ने शैली पनि पश्चिमा थियो । नेपाली पाखा पखेरामा घन्किने गीत नै उनीहरुको थकाइ मेटाउने माध्यम बनेको थियो । युवा र युवतीले भाका हालेर गाएपछि हामी पनि के कम, लय मिलाउन थाल्यौं ।
झमक्क साँझ परेको छ । सिमसिमे पानीले रुझेका छौं । हामी साल्पा भन्ज्याङमा निथ्रुक भिजेर पुग्यौं । सगरमाथा पदयात्रा जोड्ने नयाँ मार्गको खोजी गर्दै हामी साल्पा आइपुगेका छौं ।
साल्पा भन्ज्याङमा एउटा सामान्य होटल छ । अरुण भ्याली भएर सगरमाथा जाने पर्यटकीय मार्ग हो, साल्पा भन्ज्याङ । सहयात्री गाल्देन शेर्पाले भोलिपल्ट साल्पापोखरी घुमेर अरुण भ्यालीतर्फ लाग्ने योजना सुनाए ।
हुस्सले ढप्पक्कै ढाकेको साल्पा पोखरीलाई एक फन्को मारेर हामी अगाडि बढ्यौं । शेर्पा हिलबाट हिमाल चियाउने हाम्रो रहर पूरा भएन ।
हुस्सले ढाकेको शेर्पा हिलबाट हिमाल होइन्, कसैले ऑखामा औंलाले घोच्यो भने पनि देख्नुहुन्न् , साल्पा भन्ज्याङकी होटल साहुनीले भन्दै थिइन् । हो,मनसुन ट्रेक भनेको अर्को भाषामा हुस्सु ट्रेक । हुस्स र कुहिरोसँग लुकामारी खेल्दै यात्रा गर्दा पनि भिन्न अनुभब बटुलिन्छ । यही मन्त्र बोकेर हामी अरुण उपत्यकातिर लाग्यौं ।
भरिया र खच्चरको क्याराभानलाई छल्दै यात्रा उराली झ¥यो ।
साल्पा भन्ज्याङ पुग्नु अघि भोकले तिरीखिरी भएका हामीले चौंरीको घिउ खाएर बाटो काटेका थियौं ।
फोक्टेको जंगलमा चौंरीको घिउ र गहुँको रोटीले बाटो काट्दै गर्दा सहयात्री नाम्गेल भन्दै थिए, बाक्सिलाको उकालोमा मकै दार्ने निर्णय सम्झेर हाँस्दै थिए । बाक्सिलाको उकालोमा भोकले स्यालाक्क भएर हामीले उकालो काट्यौं ।
अरुण भ्याली पदमार्ग पुरानो हो । सगरमाथा सोझिने यो पदमार्गलाई सिजनमा भिडभाड मन नउराउने पर्यटकहरु पछ्याउछन् । अरुण भ्यालीतर्फको उनीहरुको पदयात्रा ब्यागप्याक बोकेर शुरु हुन्छ ।
भीड भन्दा शान्त र नयाँ पदमार्ग रुचाउने क्लासिक पर्यटकहरुको रुचि बढ्दै गएको छ । त्यही शान्त र सुन्दर अरुण भ्यालीलाई पछ्याउँदै हाम्रो यात्रा ओरालो लागेको छ ।
अरुण भ्यालीको ल्याण्डस्केप देख्दा लियोनार्दो दा भिन्चीले मोनालिसाको कला बनाएको जस्तो जस्तो लाग्यो । फरक दृष्य र फरक प्रकृती, संस्कृति नै यस्ता नयाँ पदमार्गका आकर्षण हुन् ।
गुराँसेको ओरालोमा खच्चरको क्याराभानको ट्राफीक जाम छल्दै हामी फेदी आइपुगेका छौं । फेदीको उकालो टोपी नै खस्कने रहेछ ।
फेदीको चढाइ यात्राको साह्रै नमिठो उकालो हो । बिदेशी पर्यटक नेपालमा हिमाल मात्रै हेर्न होइन, यस्ता टोपी खस्ने उकालो ओरालो हेर्न पनि आउँछन् , शेर्पा भन्दै थिए ।
जाडोबाट यात्रा बिस्तारै हप्प गर्मीतर्फ लाग्दैछ । फेदीमा खाना खाँदा पसिनाले निथ्रुक्क भिजेका थियौं । असी र नब्बे बर्षका बुढा बूढीहरु बृद्धा भत्ता थापेर आउँदै थिए ।
एक जना छेउमा आएर सोधे, बाबुहरु लेकबाट झरेका हौं ? हो, बा भन्दै बियरको चुस्की लगायौं । खोंच साइटमा पदयात्रा गर्दा गर्मी छल्ने साधन हो, बियर ।
टन्न भएर हामी साल्पाखोलाको किनारै—किनार अगाडि बढ्यौं । गाल्देन भने जुत्ता भिज्ने डरले खोलामा बाख्राका पाठा झैं उफ्रदै थिए । एकैछिनमा पानीमा लडे र उठे । लाजले रातो मुख पारे । हिलो–पानीमा लड्दा र बाउले गाली गर्दा लजाउनु पर्दैन ।
यात्राभरि खच्चरको लस्कर अरुण भ्यालीको दृष्य हो । त्यो लस्करलाई छल्दै यात्रापछि बास बस्न हामी दोभान पुग्यौं । दोभानकी होटलवालीले अरुण भ्याली हुँदै आउने पर्यटक न्युन छन, उनले भनिन् ।
ट्रेकिंग रुट घोषणा गर्दैमा पर्यटक आउँदा रहेन छन् । मार्र्केटिङप्रति इकिंत गर्दै उनले भनिन् । खेतीपातीमा ब्यस्त हुने समय भएकाले होटलवाली हामीलाई कोठा देखाएर बारीमा गइन् ।
पर्यटनको रेखांकन भएको दश बर्ष भए पनि अरुण भ्याली भएर सगरमाथा जाने पर्यटक कमै आउने गरेको गुनासो स्थानीयबासीले गरे ।
क्याम्पिङ पदयात्राका लागि यो मार्ग आकर्षक छ । डिलक्स होटल भने यहाँ छैनन् । स्थानीयस्तरका चिया पसल र होटल भने पाइन्छन् । हाम्रो गन्तब्य तुम्लिङटार थियो ।
भालेको डाँकोसँगै हामी उठेर हिड्यौं । यात्रा साल्पा खोलाको बगरै बगर अनि पहाडी ट्रक खच्चरलाई छल्दै हामी गोथे बजार पुग्यौं ।
भोजपुरको गोथे बजारमा बाटैभरी बिख हालेर खान दिन्छन् भन्ने खबर सुनियो । त्यसले हामीलाई केही अमिलो पारेको थियो ।
पर्यटकीय क्षेत्रमा बिखको हल्ला चलेर बजारै सुक्यो, एक जना चिया पसल्नीले गुनासो पोखिन । पर्यटक हिडन थालेदेखि नै यस ठाउँलाई बदनाम गर्ने काम भएको उनले बताइन् ।
हामीले बिखको डरले बिहानी खाजा पनि बियर पियौं । हामीलाई बियरे मान्छे भनेर गोथेबजारका स्थानीयले उपमा दिएका रहेछन् ।
अरुण भ्याली पदयात्रामा संसारकै दुर्लभ काँडे भ्याकुर देख्न पाइन्छ । त्यस्तै बत्तीस जातका लालीगुराँस पाइने यो भ्याली पदयात्राका लागि निकै प्रख्यात छ ।
अरुण भ्याली पदयात्रा अरुण नदीको किनारै—किनार भएर गरिन्छ । अरुण भ्याली पद मार्ग पनि सगरमाथा पुग्ने बैकल्पिक मार्ग हो ।
जहाजबाट तुम्लिङटार ओर्लेर वा धनकुटाबाट बसमा गएर यो पदयात्रा गर्न सकिन्छ । बिबिध कला र संस्कृतिको धनी यो पदमार्गको मार्केटिङ भने कमै भएको स्थानीय पर्यटन ब्यबशायीको बुझाइ छ ।
देशका अन्य पदमार्गमा सडक बिस्तार भएकाले अरुण भ्याली पर्यटकको रोजाइमा पर्ने पर्यटनकर्मी नबीन त्रिताल बताउँछन् । अरुण नदीको तुम्लिङटारदेखि धरानको चतरासम्म रयाफटी गर्न सकिन्छ । साहसिक गन्तब्यको संभाबना बोकेको छ , अरुण भ्यालीले ।
लेकबाट हामी गढतीरतर्फ लागिरेहका छौं । अरुण नदीलाई देब्रे पारेर बगरै बगर हिडिरहेका छौं । बर्खामास भएकाले अरुण बैंशले उन्मत्त भएकी छे । भाका फेरे पनि सुसेली एउटै हालेकी छे ।
टन्टलापुर घाम लागेको छ । बालुवा धप्पकै बलेको छ । नदी किनारमा पाइलाहरु लोसे भएका छन् । पाइला अगाडि बढ्नु भन्दा बालुवामा भासिन ब्यस्त छन् ।
हामी लल्याक–लुलुक भएर तुम्लिङटार तर्फ हिडिरहेका छौं । सहयोगी लाक्पा र साङ्गे शेर्पा घामले ओइलाएर कतै रुख भेटियो कि सितल ताप्न पुगीहाल्दथे । गाल्देन भने चिवाबेशींको टन्टलापुर घामलाई छल्दै तुम्लिङटार पुगेर पिक अप भ्यान लिएर उद्धार गर्न बिचैमा आइ पुगे ।
झमक्क साँझ परेपछि स्थानीय सालबहादुर गुरुङको होटलमा बास बस्यौं । मकालु हिमाल आरोहण गर्न जाने र फेदीसम्म पुग्नलाई राजधानीबाट पर्यटक तथा आरोहीहरु सिधैं तुम्लिङटार ओर्लन्छन् । अरुण भ्याली भएर सगरमाथा सोझिने पदयात्री पनि आइपुग्छन् ।
अरुण भ्यालीबाट सगरमाथा पुग्नलाई तीन साताको समय चाहिन्छ । साहसी र अनुपम पदयात्रा गर्नेले अरुण भ्याली रोज्ने गर्छन् ।
अरुणभ्याली ट्रेक यातायातले छोएको छैन । एकान्तमा पर्यटन र पदयात्रा गर्न रुचाउनेले त्यसको स्वाद यस पदमार्गमा लिन सकिन्छ । कोलाहल र भिडभाडबाट मुक्ति पाउने हो भने अरुण भ्याली पदयात्रा रोज्नुस् । अरुण भ्याली पदयात्रामा अरुण तेश्रो हाइड्रोको निर्माण भइरहेको छ । यसको अर्थ हो, अब पदमार्गको नया“ प्रोडक्ट थपिएको छ, हाइड्रो पर्यटन ।