इटालीबाट फर्किएकी बुढानिलकण्ठकी युवतीमा कोरोनाकाे एन्टिबडी, स्वास्थ्यकर्मी पनि क्वारेन्टाइनमा

काठमाडौं, वैशाख ४ : इटालीबाट फर्किएकी काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाकी एक युवतीमा कोरोनाको एन्टिबडी देखिएको छ। कोरोनाको एन्टिबडी देखिएपछि परीक्षण गर्ने स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टाइनमा राखिएको छ।
बुढानिलकण्ठ नगरपालिकाले बुधबारदेखि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट विदेशबाट आएका नागरिकको परीक्षण सुरु गरेको थियो। त्यसमा इटालीबाट आएकी ३१ वर्षीया युवतीमा कोरोनाको एन्टिबडी देखिएको मेयर उद्धवप्रसाद खरेलले बताए। उनको पीसीआर विधिबाट परीक्षण गर्न स्वाब पठाइएको छ।
उनका अनुसार, उनी २८ दिन अघि इटालीबाट आएकी थिइन्। उनले २२ दिन क्वारेन्टाइनमा बसेको बताएकी छन्। त्यसपछि फोन गरेर परीक्षणका लागि सोधेकी थिइन्। चिकित्कसहरुले लक्षण नदेखिएकाले परीक्षण नगर्दा पनि हुने बताएका थिए।
बुधबार नगरपालिकाले र्यापिड टेस्ट गर्दा आफै जाँच गर्न आएकी थिइन्। उनमा कुनै लक्षण नदेखिएको मेयर खरेलले बताए।
उनको परीक्षणमा संलग्न डाक्टरसहित स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टाइनमा राखिएको छ। त्यस्तै, उनका आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको मेयर खरेलले बताए।काठमाडौँ प्रेस